यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडलाई

एजेन्सी– च्याम्पियान्स लिगको बिजेता रियल म्याड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ ।आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गर्दै सिजनको सुरुवात उपाधिसहित गरेको हो ।

रियल म्याड्रिडका लागि डेविड अलाबा र करीम बेन्जेमाले १-१ गोल गरे । खेलको ३७ औँ मिनेटमा डेविट अलबाले क्यासिमिरोले हेडरमार्फत दिएको पास गोलमा परिवर्तन भएको थियो ।

६५ औं मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे । भिनिसियस जुनियरको पासमा बेन्जेमाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भएको थियो । त्यसअघि भिनिसियसको दुई सुन्दर प्रहारलाई गोलरक्षक केभिन ट्राप र डिफेन्डर तुताले बचाएका थिए ।

यससँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ । तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन् । बार्सिलोना ४ पटक उपविजेता हुँदा रियल ३ र मिलान २ पटक उपविजेता भएको छ । लिभरपुलले ४ पटक उपाधि जितेको छ ।


प्रकाशित | २६ श्रावण २०७९, बिहीबार ०८:५२