एनआरएनको चाहना अनुरुप नै नागरिकता विधेयक पास हुनेमा विश्वस्त छौ: सुनील साह

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष सुनील साहले नागरिकता विधेयक गैर आवासीय नेपालीले चाहेअनुसार नै सहज ढंगले पाउन सक्ने गरी पास हुनेमा विश्वस्त रहेको बताउनु भएको छ ।

कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली नागरिकता सहज ढंगले पाउन सक्ने गरी विधेयक पास हुने र कानुन निर्माण पश्चात कार्यन्वयन हुनेमा विश्वस्त रहेको बताउनु भएको हो ।

‘गैर आवासीय नेपाली संघले स्थापनादेखिनै उठाउँदै आएको गैर आवासीय नेपालीलाई नागरिकता प्राप्तिको विषय सम्बोधन भई कार्यान्वयन हुने दिशामा अघि बढेको छ’, उहाँले भन्नु भएको छ, ‘हामीले उठाउँदै आएको नागरिकताको निरन्तरताको मुद्दा नै अझै सम्वोधन भैसकेको छैन । क्रमशः त्यता तर्फ पनि पहल हुँदै जानेछ ।’

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको विभिन्न पदमा रहँदै नेतृत्व गरिरहदा पनि गैर आवासीय नेपालीलाई नागरिकता र दोहोरो कर खारेजीका लागि आवाज उठाउँदै आएको बताउँदै कोषाध्यक्ष साहले यस मुद्दालाई एनआरएनए आइसिसीले पनि विशेष अभियान बनाएर अघि बढ्दै आएको स्पष्ट पार्नु भयो ।

‘अहिलेको आईसिसी कार्यसमितिले पनि यसलाई महत्व दिदैं आएको छ । अव गैर आवासीय नेपाली नागरिकता सहितको नागरिकता विधेयक संसदमा दफावार छलफलका लागि पेश भएको छ । आशा छ, अन्तमा, यस समयमा हामी सबै सचेत भई आ(आफ्नो तहवाट पनि योगदान गर्नका लागि अपिल पनि गर्न चाहन्छु’, उहाँले थप्दै भन्नु भएको छ ।


प्रकाशित | २ श्रावण २०७९, सोमबार ०९:५०