देउवा, ओली, प्रचण्ड र नेपालले भने- एनआरएनको भावना अनुरुप नै नागरिकता विधेयक पारित गछौं

काठमाडौं : नेपालका शीर्ष नेताहरुले गैर आवासीय नेपालीहरुको भावना अनुरुप नै नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका शीर्ष नेताहरुले एनआरएनको भावना अनुसार नै नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

गैर आवासीय नेपाली संघको प्रतिनिधि मण्डलले शीर्ष नेताहरुलाई गरेको छुट्टा छुट्टै भेटमा नेताहरुले सो प्रतिबद्धता जनाएका हुन् । सरकारले नागरिकता विधेयक बुधबार नै प्रतिनिधिसभामा संशोधनसहित दर्ता गरेको नागरिकता विधेयक पेश गरिसकेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघको माग पनि समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताउँदै संविधानमा गैर आवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुने बताउनु भयो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा गैर आवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक अघि बढ्ने र सोहि अनुरुप संसदीय प्रकृयाबाट पास गरिने जानकारी दिनु भयो ।

“एक पटकको नेपाली सधैको नेपाली” भन्ने पवित्र भावनालाई संविधानमा संस्थागत गरेको आवगत गराउँदै उहाँले विदेशमा बसेका सबै नेपालीले देशको समृद्धिमा सहयोग गरिरहेको बताउनु भयो । उहाँले आफ्नो र पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि प्रतिबद्धता जनाउनु भयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि संविधानमा गैर आवासीय नेपाली नागरिकताको लागि व्यस्था भए अनुसार नै विधेयक अघि बढेको जानकारी गराउनु भयो । यसमा आफ्नो र पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि उहाँले बताउनु भयो ।

त्यस्तै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले प्रतिनिधिसभामा पेश भएको नागरिकता विधेयकमा केहि कुरा छुटेको भए संसोधन सहित पास गरिने जानकारी गराउनु भयो । उहाँले पनि आफ्नो र पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

उता गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको संघको एक प्रतिनिधि मण्डलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोईराला), परराष्ट्र मन्त्री डा. नारायण खड्का, प्रतिनिधिमण्डले नेपाल सरकारका मुख्य सचिव शंकर दास वैरागीसँग पनि भेट गरि नागरिकता विधेयक बारे छलफल गरेको छ ।


प्रकाशित | ३० असार २०७९, बिहीबार ०९:३१