के भन्छन् फुटबल विश्लेषक बार्सिलोना र लिभरपुलको खेलबारे ?

एजेन्सी :  युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलमा यसपटक स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुल भिड्दैछन् । सेमिका दुई खेलमध्ये यस खेललाई फाइनलसरह मानिएको छ । किनभने, प्रतियोगिताका प्रमुख उपाधि दाबेदार यी दुई टिम फाइनलअगावै भिड्दैछन् ।

अहिले सो खेलमा बार्सिलोना र लिभरपुलमा कसले बाजी मार्ला भन्ने विषयमा विभिन्न अड्कालबाजीहरू भइररहेका छन् । फ्यान बेस र फुटबल पण्डितहरूले आ–आफ्नै भविष्यवाणी गरिरहेका छन् । यसैक्रममा इंग्लिस क्लब आर्सनलका पूर्वखेलाडी तथा हाल फुटबल विशेषज्ञका रूपमा रहेका पाउल मर्सनले पनि यसबारे आफ्नो धारणा राखेका छन् ।

चर्चित खेल संस्था ‘स्काई स्पोर्टस्’मा फुटबल विशेषज्ञ रहेका उनले च्याम्पियन्स लिगको अन्तिम चारमा लिभरपुलले बार्सिलोनालाई निराश बनाउने भविष्यवाणी गरेका छन् । उनले भर्जिल भान डाइकजस्ता यो समयका उत्कृष्ट डिफेन्ड रहेको टिमले बार्सिलोनालाई जित्न नदिने बताए । त्यत्ति मात्रै हैन, मर्सनले त पहिलो र दोस्रो दुवै लेग लिभरपुलले नै जित्ने दाबी गरेका छन् । ‘मेरो विचारमा लिभरपुलले दुवै लेगमा बार्सिलोनालाई हराउँछ,’ उनले अघिल्लो दिन एक कार्यक्रममा भनेका छन् ।

उनले अघि थपे, ‘मलाई यो थाहा छैन कि, लिभरपुलसँग बार्सिलोनाविरुद्ध के–के योजना र तयारी छन् । तर, यस खेलमा भान डाइकले आफ्नो उच्च स्तर देखाउनेमा म विश्वस्त छु,’ मर्सनले भने, ‘उनी यतिबेला यस्तो लयमा छन् कि, जसले लिभरपुलको आधा रक्षापंक्ति एक्लै सम्हालिरहेका छन् ।’

मर्सनले बार्सिलोनासँग लिओनल मेस्सीजस्ता विश्वका उत्कृष्टमध्यका एक खेलाडी भए पनि उनीहरू लिभरपुलसँग निराश हुने बताए । ‘मलाई लाग्छ, बार्सिलोना अहिले आफ्नो ओर्जिनल भर्सनमा छैन । उनीहरूले खेल त जितिरहेका छन् । तर, यो च्याम्पियन्स लिग जित्ने गतिको होइन,’ मर्सनले भने, ‘तर, लिभरपुलसँग यतिबेला सबै कुरा ठीकठाक छन् ।’

मर्सनले यदि सेमिफाइलनमा बार्सिलोनाले लिभरपुललाई हराए आफ्ना लागि आश्चार्य हुने बताए । ‘यदि बार्सिलोनाले लिभरपुललाई हराए त्यो मेरा लागि प्रत्यासित नतिजा हुनेछ,’ उनले भने ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार २०:१०