ललितपुर: नागरिक समाजः पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिकका मुलभुत सवालहरु स्वास्थ्य, शिक्षा, कृषि र विपदका क्षेत्रहरुमा उल्लेख्य परिवर्तन ल्याएको छ ।
परियोजनाले बस्ती तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि पैरवी र वकालत गर्दै स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोग, नागरिक समाज संघ संस्थाहरुलाई गरेको परिचालन र नागरिकहरुका सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन् ।
युएसएआइडी एफएचआइ ३६० को सहयोगमा मानव अधिकार संचार प्रतिष्ठान नेपालले ललितपुर जिल्लाको गोदावरी नगरपालिका र कोम्ज्योसोम गाउँपालिकामा सन् २०१७ देखि २०२२ सम्म सञ्चालन गरेको परियोजनाको आज बुधबार ललितपुरमा आयोजित परियोजना सम्पन्न कार्यक्रममा सहभागी सरोकारवालाहरुले ५ वर्ष देखि संचालित परियोजनाले समुदाय र जिल्ला स्तरमा सकारात्मक उपलब्धी हासिल गरेको बताएका थिए ।
कार्यक्रममा स्थानीय सभाका संयोजक गम्भीर राणा, पत्रकार दिपक घिमिरे, गैसस महासंघ ललितपुरको सचिव नन्दा ताम्राकार, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने, गैसस महासंघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोल, नागरिक समाज सञ्जालका संयोजक एंव गैसस महासंघका केन्द्रीय सदस्य टिकाराम दाहाल, नागरिक अभियन्ता जनप्रतिनिधिहरुले स्थानीय स्तरमा र जिल्लास्तरमा संचालन गरिएको क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ-आफनो अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा इह्रिकनका कार्यकारी निर्देशक पंकजराज देवकोटाले परियोजना संचालनको ५ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको छ ।
साथै कार्यको समापन गर्दै इह्रिकनका अध्यक्ष मीना शर्माले परियोजनाको समय अवधि सकिए पनि संस्था सदैव रहिरहने भएकोले नागरिक समाज संस्थाहरु सँग समन्वय सहकार्य गर्दै नागरिकका सवालहरुमा सदैव हातेमालो गर्दै अगाडि बढ्न संस्था तयार रहेको र परियोजना सफल बनाउन साथ सहयोग गर्ने नागरिक समाज संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै कदर पत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, स्थानीय समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित | ८ असार २०७९, बुधबार २२:०५