मनसुन फेरि सक्रिय हुने, आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने

काठमाण्डौ : आउँदो हप्ता मनसुन सक्रिय हुने भएको छ । आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने मौसमविदहरुले बताएका हुन । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउनआग्रह गरेको हो ।

महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्र्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ । यस्तै सोमबारदेखि बिहीबारसम्म प्रदेश १ र २ तथा वाग्मती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बुढीगण्डकी, मस्र्याङ्दी कालीगण्डकी तथा तिनका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।

यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

विशेषगरी प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्नेछ । मौसम सम्बन्धी केही जानकारी लिन महाशाखाको फोन नम्बर ०१४११३१९२ मा र बाढीबारे जानकारी लिन ११५५ मा फोन गर्न सकिनेछ ।


प्रकाशित | २ श्रावण २०७७, शुक्रबार ०७:४५