नागरिकता विधेयक अगाडि बढाउने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ : सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउन राख्नु भएको प्रस्तावमा सो निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले केही प्रक्रियाहरू पुरा गरेर नागरिकता विधेयक चाँडै सदनमा पेस गरिने बताउनु भयो । कतिपय नागरिक बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको बताउनुभयो । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको कार्कीले बताउनु भयो ।


प्रकाशित | ८ असार २०७९, बुधबार २०:४६