रणनीतिक महत्वको प्रसारण लाइन निर्माणको काम आगामी असारदेखि शुरु गरिने

काठमाडौं : आगामी असारदेखि अमेरिकी सहयोगका रणनीतिक महत्वका दुई ठूला आयोजनाको काम शुरु हुने भएको छ । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को मुख्य लगानी रहने गरी नेपालमा ‘एससिए नेपाल’ नामक संस्था दर्ता भएको छ । सोही संस्थाले कूल ४०० केभी क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ सम्झौताको कार्यान्वयन २०७७ साल असार १६ गतेदेखि हुनेछ ।

काठमाडौँको नाङ्लेभारेदेखि शुरु हुने उक्त प्रसारण लाइन नुवाकोटको रातमाटे हुँदै तनहँुको दमौली, बुटवल र गोरखपुरसम्म निर्माण हुनेछ । यस्तै नुवाकोटको रातमाटे, दमौली र बुटवलमा उच्च क्षमताका सवस्टेशनसमेत निर्माण हुनेछ । करीब ९० लाख नागरिकलाई सहज विद्युत् सेवा प्रदान गर्ने र रणनीतिकरुपमा विद्युत् प्रवाहका लागि महाराजमार्ग निर्माण गर्ने सो आयोजनाको लक्ष्य रहेको छ । सडक पूर्वाधारसहित प्रसारण लाइन निर्माणका लागि एमसिसीले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर ९करीब रु ७१ अर्ब० खर्च गर्ने भएको छ । योजनाअनुसार ३०५ किलोमिटर सडक अत्याधुनिक प्रविधिको प्रयोग गरेर मर्मतसम्भार गरिनेछ ।

काठमाडौँदेखि शुरु भएको प्रसारण लाइन बुटवल हुँदै न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनसँग जोडिनेछ । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले रणनीतिक महत्वका दुई आयोजना आगामी असार १६ गतेदेखि शुरु हुन लागेको जानकारी दिनुभयो ।

नेपालको प्रसारण लाइनको मेरुदण्डका रुपमा रहेको प्रसारण लाइनलाई समयमै सम्पन्न गराउन वातावरणीय प्रभाप मूल्याङ्कन तथा अन्य प्राविधिक काम अगाडि बढिरहेको छ । “बाँकी रहेको ११ महीनाभित्र आवश्यक सबै काम सम्पन्न गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ”, कार्यकारी निर्देशक विष्टले भन्नुभयो ।

निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक सबै तयारी गरिने र काम शुरु भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नैपर्ने शर्त एमसिसीको रहेको छ । रुख कटान, वन क्षेत्रको जग्गा प्रयोग, वातावरणीय प्रभाव मूल्याङ्कन, निर्माण व्यवसायीको छनोट तथा अन्य काम सम्पन्न गरी आगामी असारदेखि निर्माण शुरु गरिने कार्यकारी निर्देशक विष्टको भनाइ छ ।

नेपालको महत्वपूर्ण परियोजना र अमेरिका सरकारको सहयोग रहेकाले पनि समयमै सम्पन्न गराउने दायित्व सरकार र सरोकार भएका सबैको भएको बताइन्छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा त्यसलाई सहज प्रसारण गर्ने वातावरण बनाउने तथा बढी भएको विद्युत् क्षेत्रीय तथा अन्तरराष्ट्रिय बजारमा लैजान पनि उक्त परियोजना महत्वपूर्ण रहेको छ ।

नेपालको प्रसारण लाइन निर्माणमा वनसँग जोडिएका विषय पेचिलो रहेको उल्लेख गर्दै विष्टले भन्नुभयो, “वनसँग जोडिएका विषयलाई पनि सहजरुपमा नै समाधान गर्ने र परियोजनामा कुनै पनि समस्या आउन नदिन सरोकार भएका सबै पक्षसँग वार्ता र संवादलाई उच्च प्राथमिकतामा राखिएको छ । एक सयभन्दा बढी सेफ्टी मेजरलाई समेत समावेश गरिएको छ ।”

नेपालको प्रसारण लाइनको विकास गरी नेपाल र भारतबीचको विद्युत् व्यापारमा सहज बनाउने, सडकको गुणस्तर सुधारलगायतका काम सो परियोजनामार्फत हुनेछ । प्रशारणलाइनतर्फ काठमाडौँको लप्सीफेदीदेखि दमौलीसम्म र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने योजना छ ।

एमसिसीको सहयोगमा निर्माण गरिने प्रसारण लाइन सरकारले प्रस्ताव गरेको दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा जोडिनेछ । सरकारले बुटवलदेखि गोरखपुरसम्म दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने तयारी गरेको छ । सरकारले सो परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समेत सूचीकरण गरेको छ ।

यस्तै सडक निर्माणअन्तर्गत कूल ३०५ किलोमिटरका छ वटा सडकको मर्मतसम्भार गर्ने योजना रहेको छ । सडक परियोजनाअन्तर्गत मेची लोकमार्गको चारआलीदेखि फिदिमसम्म १३० किलोमिटर, कोशी लोकमार्गको धरानदेखि वसन्तपुरसम्म ८८ किलोमिटर, सगरमाथा लोकमार्गको लहानदेखि गाईघाटसम्म २६ किलोमिटर, रत्न लोकमार्गको अमेलियादेखि तुलसीपुरसम्म ३८ किलोमिटर र त्रिभुवन लोकपथको हेटौँडादेखि भीमफेदीसम्मको २२ किलोमिटर सडक मर्मतसम्भार गरिनेछ ।

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारको प्रतिनिधिका रुपमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच सम्झौतामा हस्ताक्षर भएको थियो । नेपाल सरकारकोतर्फबाट आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राख्ने काम भइसकेको छ । विद्युत् नियमन आयोग गठन भइसकेको छ । उक्त सम्झौतालाई सङ्घीय संसद्बाट अनुमोदन गर्न भने बाँकी छ । कार्यकारी निर्देशक विष्टका अनुसार उक्त सम्झौता छिट्टै अनुमोदन हुने जानकारी आफूहरु पाएको बताउनुभयो । यस्तै आयोजना कार्यान्वयनका लागि सरकार र एमसिए नेपालबीच सम्झौतामा हस्ताक्षर हुन बाँकी रहेको छ ।

यस्तै न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सैद्धान्तिक सहमति भए पनि भारतसँग केही विषयमा कुरा मिल्न बाँकी रहेको छ । एमसिए नेपालको सञ्चालक समितिमा प्राधिकरणका कार्यकारी निर्देशकसमेत सदस्य रहने व्यवस्था छ । बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा आवश्यक सहमति हुने जानकारी दिनुभएको विष्टको भनाइ छ ।

सम्झौता कार्यान्वयन शुरु हुनासाथ काम अगाडि बढाउनका लागि विस्तृत डिजाइनसम्बन्धी कार्य, प्रसारण लाइन मार्ग निर्धारणलाई अन्तिम रुप दिने कार्य, ठेक्काका लागि बोलपत्रमा जाने कार्यदेखि ठेकेदार छनोट प्रक्रियासम्बन्धी योजना निर्माणसमेत अगाडि बढिसकेको छ । रासस


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार २०:१४