राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको १२ लाख ८७ हजार सहयोग

काठमाडौं:  गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयोग गरेको छ । आज एनआरएनए सचिवालयमा आयोजीत एक कार्यक्रमका बीच कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो सहयोग हस्तान्तण गर्नुभयो ।

सहयोग बुझ्दै डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनु भयो ।

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिनुभयो ।  त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताउनु भयो ।

सो अवसरमा कार्यकारी अध्यक्ष आचार्यले विभिन्न अभियन्ताहरुबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

त्यस्तै विदेशमा सिकेको  ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताउनु भयो ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रम गैर आवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले संचालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न मुलुकबाट पाल्नु भएका आइसिसि तथा एनसिसिका प्रतिनिधिहरु, गैर आवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

गत चैतमा एनआरएनएले आयोजना गरेको एक मर्चुअल कार्यक्रममा विश्वभर रहेका गैर आवासीय नेपालीलाई महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको भर्चुअल टुर गराउनुभएको थियो । सो कार्यक्रमार्फत विभिन्न गैर आवासीय नेपालीहरुले केन्द्रलाई २५ लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिबद्धता गर्नु भएको थियो । प्रतिबद्धता आएमध्ये संकलीत रकम पुनलाई हस्तान्तरण गरिएको हो ।

यो पनि पढ्नुहोस 

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्राउन महावीर पुनको आह्वान (भिडियो रिर्पोट सहित )


प्रकाशित | ८ असार २०७९, बुधबार १९:४९