अब कानुनमै मर्यादित पत्रकारिताको बुँदा थप्ने सञ्चारमन्त्री गुरुङको घोषणा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन अब कानुनमै मर्यादित बुँदा थप्ने गरि तयारी भइरहेको जानकारी गराउनुभएको छ । पत्रकारिता जगतमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्नको लागि कानुनमै मर्यादित पत्रकारिताको बुँदा थप्ने तयारी भइरहेको बताउनुभएको हो ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा बोल्नुहुँदै सञ्चारमन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन लागिपरिरहेको बताउनुभएको हो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘म तपाईहरुलाई जानकारी गराउन चाहान्छु कि सञ्चार कानुनमा अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्न लागिरहेको छु ।’ मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको पनि बताउनुभयो ।

‘कुनै मिडियामा कुनै समाचार आयो भने त्यो मिडिया त फलानो नेताको नजिक हो भन्ने अवस्था सिर्जना भएको छ, तर अब त्यस्तो अवस्था आउँन नदिने गरि अगाडि बढ्नुपर्छ ’, उहाँले भन्नुभयो । पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्नुपर्छ ।’


प्रकाशित | २५ कार्तिक २०७७, मंगलवार १३:१७