स्थानीय तह मतपरिणाम : मनाङमा कांग्रेस र एमालेको विजयी सुरुवात

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा देशका विभिन्न पालिकाहरुमा मतगणना सुरु भएको छ । मनाङका दुई पालिकाका अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । चामे गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मत ल्याउँदा नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभयो । यसअघि घले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर विजयी हुनुभएको थियो ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुँदा एमालेकी आशाकुमारी गुरूङले २७४ मत ल्याउनुभयो ।
त्यस्तै चामेको वडा नम्बर १ को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध निर्वाचित भएका थिए । वडा ३ र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षमा दुवै दलका उम्मेदवारले ३०–३० मत पाउदा गोलाप्रथाबाट एमालेका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, मनाङकै नार्पाभूमिबाट कांग्रेसले पनि खाता खोलेको छ । पालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर लामा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याउनुभयो ।
४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार ०७:२१