स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न एमालेको माग

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ । भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले तत्काल मिति तोक्न र भोलि बिहीबारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अुनसार एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवं अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

केही दिन अगाडि पार्टी छोडेकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्काशन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख गुरुङले रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

बैठकले यसै साता केन्द्रमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने, आफूहरूले गरेको राम्रा कामको प्रचार गर्दै स्थानीय तह निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढ्ने गुरुङले जानकारी दिनुभयो ।

बैठकले महिला, युवा, विद्यार्थी र किसान महासङ्घबाहेकका अन्य जनसङ्गठनको महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको, पार्टीको नियमावली, जनसङ्गठनको निर्देशिका पारित गरेको र सहकारी तथा स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

चैत महिनासम्म पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गर्दै बैठकले पार्टी सदस्यतासम्बन्धी अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले निर्णय गरेको छ ।


प्रकाशित | १९ माघ २०७८, बुधबार २०:५३