सङ्घीय र प्रदेश सभा चुनाव मङ्सिर पहिलो सातासम्म गर्ने तयारी

काठमाण्डौ : निर्वाचन आयोगले आउँदो मङ्सिर पहिलो सातासम्म सङ्घीय र प्रदेश सभा चुनाव गर्ने गरी तयारी थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी थालेको जानकारी गराउनु भयो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पौडेलले भन्नुभयो, ‘आयोग एकै चरणमा चुनाव हुनुपर्छ भन्ने पक्षमा छ। एकै चरणमा चुनाव गर्दा मङ्सिरको पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी भइरहेको छ ।’

यस्तै आयोगले सङ्घीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको प्रवक्ता पौडेलले बताउनु भयो ।

असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु हुने उहाँको भनाई छ ।

उहाँले अहिले अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सकिने जानकारी पनि गराउनु भयो ।


प्रकाशित | ३१ जेष्ठ २०७९, मंगलवार १९:५८