प्रतिनिधि-सभाद्धारा किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं: प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलपछि प्रतिनिधिसभाले सरकारलाई सो निर्देशन दिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले छलफलमा भाग लिएका ४८ जना सांसद र कृषिमन्त्रीको जवाफमा सबैको समान धारणा देखिएकोले विशेष प्रस्ताव सदनमा पेस गर्नु भएको थियो । यो प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो ।

प्रस्तावमा रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समधान गर्न प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ छलफलपछि प्रतिनिधिसभाले पारित गरेको प्रस्तावमा भनिएको छ ।


प्रकाशित | ३० जेष्ठ २०७९, सोमबार १७:४३