विषादीयुक्त सागसब्जी र फलफूल: धमाधम भित्रिन थाले, प्रयोगशाला नाम मात्रैको

विराटनगर: विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।

काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताउनुभयो ।

प्रदेश १ मा तरकारी र फलफूल सबैभन्दा बढी भित्रिने झापाको काँकडभिट्टा नाका हो। यस्तै विराटनगर भन्सारबाट पनि सोमबारदेखि पूर्ववत् रुपमा तरकारी र फलफूल बोकेका भारतीय गाडी नेपाल भित्रिएका छन्। काँकडभिट्टा नाकाबाट भित्रिएका फलफूल र तरकारी बिर्तामोडस्थित कृषि थोकबजार हुँदै देशका विभिन्न सहरमा पुर्‍याइन्छन् भने विराटनगर भन्सारबाट भित्रिएको विराटनगरस्थित गुद्री बजारसहित विभिन्न स्थानमा पैठारी हुन्छ।

प्रदेश १ को राजधानी विराटनगरमा सोमबारदेखि प्रदेश सरकारले विषादी मापन प्रयोगशाला सुरु गर्‍यो। जोगबनी नाका नजिकै प्रयोगशाला खुल्दा सबैलाई लागेको थियो ? ‘संघीय सरकार पछि हटे पनि प्रदेश सरकारले अब विराटनगर भन्सारबाट आउने तरकारी र फलफूल परीक्षण गर्छ।’ तर, सो प्रयोगशालाले नेपाल भित्रिएर बजारमा बिक्री भइरहेका तरकारी र फलफूलको मात्रै नमुना संकलन गरी परीक्षण गर्ने भएको छ।

हाल विषादी परीक्षण गर्न संघीय सरकारले नै रोकेकाले प्रदेश सरकारले पनि नाकामै ट्रक रोकेर विषादी परीक्षण नगने प्रदेश १ सरकारले जनाएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले संघीय सरकारले अनुमति दिए मात्र आयातीत तरकारी र फलफूल परीक्षण गर्ने बताए। ‘यो अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएको कुरा भएर यसमा संघीय सरकारले निर्णय गर्नेछ। अहिले हाम्रो प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलको नमुना संकलन गरेर परीक्षण गर्ने हो,’ उहाँले भन्नुभयो ।


प्रकाशित | २५ असार २०७६, बुधबार ०६:३९