कागेश्वरी मनोहरामा पहिलो पटक सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धमा अन्तरक्रिर्या

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाभित्र सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धमा स्थानीय सरकारसँग अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त आयोजनामा पहिलो पटक कागेश्वरी मनोहरा नगरपालिकाका सरोकारवालाहरुसँग अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको हो ।

जिल्लाको सुरक्षा संयन्त्रसहितको टिमको उपस्थितिमा बिहीबार भएको कार्यक्रममा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले प्रशासनबाट भए गरेका सेवा प्रवाह र सुधारका प्रयासका बारेमा प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रममा सहभागिहरुले आफूसँग सरोकार विषयमा कुरा राख्नु भएको थियो । सो अवसरमा सम्बन्धीत कार्यालय तथा शाखा प्रमुखहरुले कार्यक्रममा उठेका सवालका बारेमा प्रष्ट पार्नु भएको थियो ।

सो अवसरमा बोल्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकाले सुरक्षा निकायसँग सहकार्य र समन्वय गरेर अगाडि बढिरहेको बताउनुभयो । मेयर कार्कीले कागेश्वरी मनोहराभित्र सशस्त्र प्रहरीको विपद् ब्यवस्थापन युनीट राख्ने तयारी भइहेको र वडा नंं १ मा ३५ रोपनी क्षेत्रफलमा राष्ट्रिय अनुसन्धान एकेडेमी निर्माण हुन लागिरहेको जानकारी गराउनुभयो ।

उहाँले बौद्ध प्रहरी पोष्ट अब्यस्थित, भद्रगोल अवस्थामा रहेकाले पोष्टको लागि जग्गा दिन तयार रहेको र कागेश्वरी मनोहराभित्र सार्नको लागि पहल भइरहेको बताउनुभयो ।  साथै उहाँले सईको दरबन्दीमा रहेको काडाँघारी प्रभागलाई कम्तिमा इस्पेक्टरको दरबन्दी ब्यवस्था गरिदिन र मूलपानी नगर अस्पतालमा पुलिस केस हेर्ने गरि एक जना प्रहरीको दरबन्दी ब्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

कागेश्वरी भौगोलिक बनावट र तीब्र जनसंख्या बृद्धिको कारण असाध्यै अपराधिक गतिविधि हुने ठाउँ भएको जानकारी गराउँदै त्यसका लागि सिआरपी म्यान बढाउन आवश्यक रहेको बताउनुभयो । नगरपालिकाभित्र लागूऔषध बढ्दै गएको, मूलपानी, गोठाटारलगायत क्षेत्रमा अवैध थन्दा चलाउने गिरोहहरु सक्रिय रहेको जानकारी पनि गराउनुभयो । कागेश्वरी देशभरिकै सबैभन्दा बढी बसाईसराई भएर आउने नगरपालिका भएकाले सोही अनुसार सुरक्षा रणनीति तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले झारपुक गर्ने भन्दै थलीको ओरालोमा भइरहेको गतिविधीलाई विशेष निगरानी बढाएर हटाउनुपर्ने माग गर्नुभयो । नगरपालिकामा शूरुमा पुजा पसल भनेर दर्ताको लागि आएकोमा नगरपालिकाले दर्ता गर्न नदिएको र तिहार लगत्तै हटाउने सहमति गरेपनि अहिलेसम्म हट्न अटेरी गरिरहेको भन्दै हटाउन माग गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख कार्कीले साँखू सडक विस्तारको  मुआब्जा वितरण गर्ने काम रोकिएकाले यसको निकास निकाली सहयोग गर्न प्रजिअसँग आग्रह गर्नुभयो ।

नगरपालिकाका नगर उपप्रमुख शान्ता थापाले सबैले आ-आफ्नो ठाउँबाट आफ्नो कर्तब्य पालना गर्न भुल्न नहुने बताउनुभयो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाह, बजार अनुगमन, विपद ब्यवस्थापन, न्यायिक निरुपण, कानून कार्यान्वयन र भइरहेको सुधारको प्रयासका बारेमा प्रष्ट पार्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र बहादुर खत्रीले सुरक्षा ब्यवस्थालाई कसरी चुस्त दूस्स्त बनाउने भनेर पालिकास्तरमा अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

अन्तरक्रिर्या कार्यक्रममा राष्टिय अनुसन्धान विभाग प्रमुख, सांखूका ईलाका प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौंका शाखा अधिकृतहरु, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यापालिका सदस्य तथा नगर सभा सदस्यहरु, मालपोत र नापी कार्यालय साँखूका प्रतिनिधिहरु, प्रहरी प्रभाग थली र काडाँघारीका प्रहरी प्रमुखहरु र ९ वटै वडाका सचिवहरुलगायतको सहभागिता थियो ।


प्रकाशित | १९ माघ २०८०, शुक्रबार १६:४९