भक्तपुर : जिल्ला समन्वय समिति भक्तपुरको अध्यक्षमा एमालेका ईश्वर थापा निर्वाचित हुनु भएको छ । निर्वाचनमा काँग्रेस र एमालेको बराबर मत आएपछि गोलाप्रथाबाट प्रमुख, उपप्रमुख र सदस्यको छनौट गरिएको थियो । गोलाप्रथाबाट छनौट गर्दा जिसस प्रमुखमा एमालेका थापा र उप प्रमुखमा काँग्रेसकी सुजाता बाडे निर्वाचित हुनु भएको हो ।
त्यस्तै, सदस्यहरुमा एमालेका नानु कार्की, मन्जु कार्की, विश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर निर्वाचित हुनु भएको छ । कांग्रेसबाट सदस्यमा बिनु केसीले गोला तानेर विजय हासिल गर्नु भएको छ ।
भक्तपुरका चार नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख आठ जना मध्ये नेकपा एमालेका दुई प्रमुख र एक उपप्रमुखसहित तीन मत, नेपाली कांग्रेसको दुई प्रमुख सहित दुई मत, नेकपा माओवादी केन्द्रका एक उपप्रमुख सहित एक मत र नेपाल मजदुर किसान पार्टीको प्रमुख र उपप्रमुख सहित दुई मत गरि कूल आठ मत रहेको थियो ।
एमाले, काँग्रेस र नेमकिपा तीन वटै दलले आ–आफ्नो उम्मेदवारी उठाए पनि काँग्रेस र एमालेले अन्तिम समयसम्म पनि नेमकिपालाई प्रमुखसहित सदस्य दिएर बहुमत जुटाउन खोजे पनि नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै पनि साझेदारी नगर्ने अडान राख्दै आएको थियो । अन्तिममा एमाले र काँग्रेसबीच पनि मिलेर जाने प्रयास असफल भए पछि अन्तमा भएको मतदानमा एमालेका उम्मेदवारले तीन मत र काँग्रेस तथा माओवादी केन्द्रका उम्मेदवारले तीन मत गरि बराबर मत प्राप्त गरे पछि गोलाप्रथा गरिएको थियो ।
मत बराबर भएपछि गोलाप्रथा गर्दा जिसस प्रमुखसहित ५ जना एमालेबाट र उपप्रमुखसहित २ जना काँग्रेसबाट निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीलाई एमालेका पोलिटव्यूरो सदस्य, प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, पूर्व नगरप्रमुख सोमप्रसाद मिश्र, निर्मल भट्टराई, राजेन्द्र राजथला, सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा लगायत एमालेका नेताहरुले बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो ।
प्रकाशित | २८ जेष्ठ २०७९, शनिबार १९:२८