नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धनमा सरोकारवालाको जोड

काठमाडौं : नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धनमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले ८४ व्यञ्जनको विश्वव्यापी प्रबर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन ।

नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धन गर्ने उद्धेश्यले बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित होटल अमुप्रस्थमा आयोजित ८४ व्यञ्जन प्रबर्द्धनात्मक कार्यक्रममा बोल्दै सरोकारवालाल सो कुरा बताएका हुन ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले ८४ व्यञ्जन नेपालको मुख्य खाना भएको बताउँदै कुनै पनि ठाउँमा पाईने खाना विशुद्ध रुपमा खाना मात्र नभएर त्यो देशको पहिचान, देशको संस्कृति र देशको गौरव जोडिने पनि बताउनु भयो ।

“हाम्रो देश नेपाल विविधताले भरिएको छ । तराई, पहाड र हिमालको भौगोलिक बनावट हामी सबैलाई थाहा छ, यहाँ विभिन्न जातजातीको बसोबास छ र हाम्रो भौगोलिक विविधतासँगै खानामा पनि हाम्रा विविधताहरु छन् । जातिय विविधताहरुसँगै खानाको पनि विविधता छ । नेपालको खाना सर्वोत्कृष्ट छ” उपराष्ट्रपति पुनले भन्नुभयो ।

परम्परागत रुपमा राजाका सेना, त्यसका कमाण्डर युद्धमा होमिने योद्धाहरुले ८४ व्यञ्जन भोजन लिने गरेको रोचक प्रसंग सुनाउनुहुँदै उपराष्ट्रपति पुनले भन्नुभयो, “त्यसताका ८४ व्यञ्जनको परिकार बनाउने कला तत्कालिन राज्यले गोप्य राख्ने गर्दथ्यो । किनकी विरोधीहरुले त्यो ८४ व्यञ्जनको खाना खायो भने विरोधी सेना तगडा हुन्छ र मेरो सेना हार्ने सम्भावना हुन्छ, त्यसकारण सबैभन्दा उत्कृष्ट खाना मेरो सेनालाई दिनुपर्छ । त्यसैले ८४ व्यञ्जनको सुत्र बाहिर ल्याईएको थिएन । विस्तारै चौरासी व्यञ्जन शोखको रुपमा विकसित आएको देखिन्छ । पछि राजा महाराजा र ठूलाबडाले खाने चौरासी व्यञ्जन भनिन्थ्यो र विदेशी पाहुनाहरुलाई उच्च सम्मानका लागि खुवाईन्थ्यो ।”

उपराष्ट्रपति पुनले नेपालकोे कुटनीति र संस्कृति झल्कने ८४ व्यञ्जनको संरक्षण जरुरी रहेको बताउनु हुँदै पाँच तारे होटल र रेष्टुरेन्टहरुमा अनिवार्य रुपमा ८४ व्यञ्जनको मेनु राख्नु पर्नेमा जोडदिनु भयो । ८४ व्यञ्जनको प्रबर्द्धनले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनु हुँदै उपराष्ट्रपति पुनले विदेशी पर्यटकहरुले नेपाल किन आउने भन्दा नेपाली ८४ व्यञ्जनको स्वाद लिन आउने भन्ने वातावरण सृजना गर्न उपस्थित सेफ र खाद्यसँग सम्बन्धित सबैलाई ८४ व्यञ्जन र नेपालका सबै भूगोलमा पाईने खानको संरक्षणमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रम आयोजक संस्था नेपाली ८४ व्यञ्जन प्रा.लि.का अध्यक्ष सेफ प्रेमलाल घिसिङले ८४ व्यञ्जनको विश्वव्यापी प्रबर्द्धनमार्फत नेपालको पर्यटनक्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

उद्योगपति, व्यापारी, समाजसेवी, राजनीतिककर्मी, खाद्य क्षेत्रसंग सम्बन्धित विज्ञ तथा होटल क्षेत्रसंग सम्बन्धित विद्यालयका प्राध्यापक एवम् विद्यार्थीहरु लगायतको भव्य सहभागिता रहेको सो समारोहमा विभिन्न महानुभावहरुलाई हिमालयन हस्पिटालिटी अवार्ड, २०२० समेत प्रदान गरिएको थियो ।


प्रकाशित | २७ जेष्ठ २०७९, शुक्रबार १२:२४