एकीकृत समाजवादीले निर्वाचनको समीक्षा गर्न सबै प्रदेशमा शीर्ष नेतालाई खटाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा १र१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको हो ।

५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढङ्गले छलफल गरिएको उनले बताए। बैठकमा नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलहरूले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


प्रकाशित | २१ जेष्ठ २०७९, शनिबार २१:०७