जोरपाटी चोकमा शौचालय निमार्णको लागि एनआरएनए र गोकर्णेश्वर नगरपालीकाबीच सम्झौता

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद र गोकर्णेश्वर नगरपालिका बिच काठमाण्डौको अति ब्यस्त र पुर्वी क्षेत्रको महत्वपुर्ण स्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि सम्झौता भएको छ।

संघका सचिव गौरीराज जोशी र उक्त नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सचिव जोशीले जोटपाटीलगायत काठमाडौँका अन्य प्रमुख व्यस्त चोकहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो ।

एनआरएनएले कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिल लगायत क्षेत्रमा काठमाडौं महानगरले जग्गा उपलब्ध गराउने, संघले शौचालय निर्माण र सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने तयारी समेत गरेको छ ।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने स्थान भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको हो । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने विश्वास लिइएको छ ।


प्रकाशित | २३ फाल्गुन २०७६, शुक्रबार १२:२१