७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौँ । वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय २८ पालिका जित्दा नेकपा एमाले २ सय ५ पालिका प्रमुखमा विजयी भएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र १ सय २१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४–४ ठाउँमा जितेका छन् ।

सिके राउतको जनमत पार्टीले दुई पालिका प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साझा पार्टीले एक–एक स्थानीय तह जितेका छन् । धरान, धनगढी, जनकपुर लगायतका १३ वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब दुई वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत ५ हजार २ सय २० मतका साथ अग्रस्थानमा रहनुभएको छ भने एकीकृत समाजवादीका बलदेव चौधरी ४ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ ।


प्रकाशित | १३ जेष्ठ २०७९, शुक्रबार ०८:१९