सूर्यविनायकले मृगौला, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार खर्च उपलब्ध गराउने

भक्तपुर : सूर्यविनायक नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराई रहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीहरूलाई औषधि उपचार बापतको खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगर भित्र बसोबास गर्ने नगरवासीलाई औषधि उपचार बापतको मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।

नेपाल सरकारको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को अनुसूची-२ बमोजिमको निवेदन नगरवासीले आफ्नो वडामा बुझाए बिरामीहरूले उक्त औषधि उपचार खर्च प्राप्त गर्न सक्ने छन् ।

औषधि उपचार खर्च प्राप्त गर्न नगरवासीले आफ्नो वडा कार्यालयमा गई निवेदनका साथै राष्ट्रिय परिचय पत्रको नम्बर वा नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाई सराइको प्रमाणपत्रको प्रतिलिपि, अनुसूची १ बमोजिम चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षाघात भएकाको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा निलो कार्डको प्रतिलिपि बुझाएमा मासिक रुपमा औषधि उपचार बापतको रकम प्राप्त गर्न सक्ने छन् ।

नगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएर आउनु भएपछि नगरप्रमुख बासुदेव थापाले नगर अस्पतालमा नगरबासीले सेवा लिदा लाग्ने सेवा शुल्कमा १५ प्रतिशत छुट दिने पहिलो निर्णय पनि गरिसक्नु भएको छ ।


प्रकाशित | ११ जेष्ठ २०७९, बुधबार १९:३८