पोखरा महानगरको मेयरमा धनराज आचार्य र उपमेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी हुनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गर्नु भयो । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याउनु भयो ।

यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गर्नु भयो । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी हुनु भयो। गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनु भयो ।

उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए ।

पोखरा महानगरका ३३ वडामध्ये काँग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी हुनु भयो । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।


प्रकाशित | ११ जेष्ठ २०७९, बुधबार ०९:०९