लुक्ला विमान दुर्घटना: ज्यान गुमाउने थप एकको पहिचान खुल्यो (अपडेट )

काठमाडौँ: सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउने थप एकको सनाखत भएको छ । दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको ज्यान गएको हो । ढुंगाना र खड्काको घटनास्थलमै ज्यान गएको हो । श्रेष्ठको भने उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याएपछि ज्यान गएको हो । घाइते दुईजनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका तीनजनालाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याएकोमा प्रहरी रुद्रबहादुर श्रेष्ठको निधन भएको अस्पतालले जनाएको छ । चेतबहादुर गुरुङ र शरद खड्काको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।  विमान दुर्घटनामा परि ४ जनाले ज्यान गुमाएका छन् ।। चार जनामध्ये अहिलेसमम तीन जनाको सनाखत भएको हो ।

समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । आइतबार बिहान समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । विमान धावन मार्गमा चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको हो । दुर्घटनाको यकिन कारण भने खुलेको छैन ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार ११:१५