कांग्रेस एक सयभन्दा धेरै पालिकामा जित्दै सबैभन्दा अगाडि

काठमाण्डौ : स्थानीय तह चुनावमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । पालिका चुनाव–२०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १८ वटा नगरपालिका र ८४ वटा गाउँपालिका गरी १०२ वटा पालिका जितेको छ ।

साथै निर्वाचन आयोगका अनुसार ८७ वटा नगरपालिका र ८६ वटा गाउँपालिका गरी प्रमुख पदमा १७३ पालिकामा कांग्रेस अगाडि छ । यस्तै कांग्रेसले १३ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

६६ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । कांग्रेसले अहिलेसम्म १४ सय वडाध्यक्ष, १३८७ महिला सदस्य, १३२५ दलित महिला सदस्य र २७३६ सदस्य पदमा जितेको छ ।

यस्तै नेकपा एमालेले ४ वटा नगरपालिकाको मेयर र ५३ वटा गाउँपालिकाको अध्यक्ष गरी ५७ वटा पालिका प्रमुखमा जितीसकेको छ । दोस्रो स्थानमा रहेको एमालेले ५९ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख गरी ११८ पालिकामा अगाडि छ ।

एमालेले ८ वटा नगरपालिकाको उपमेयर र ५२ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७१ वटा नगरपालिकाको उपमेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्षमा एमालेको अग्रता रहेको छ । यस्तै एमालेले १०५७ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले ११४६ महिला सदस्य, ११३१ दलित महिला सदस्य र २३२१ सदस्यहरु जितेको छ ।

यस्तै आयोगका अनुसार तेस्रोमा रहेको माओवादी केन्द्रले ३ वटा नगरपालिकाको मेयर र ४१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र २२ वटा नगरपालिका र ४१ गाउँपालिकाको प्रमुखमा अघि रहेको छ । माओवादी केन्द्रले तीन नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

उपप्रमुखमा ३२ नगरपालिका र उपाध्यक्षमा ३६ गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ । माओवादी केन्द्रले ५९३ वडाध्यक्ष, ५५२ महिला सदस्य, ५७७ दलित महिला सदस्य र १०३९ सदस्य जितेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ ।

प्युठानको एक पालिकामा राष्ट्रिय जनमोर्चा, ओखलढुंगाको खिजिदेम्वामा जनता समाजवादी पार्टीले जितेका छन्। दुई जना स्वतन्त्र उम्मेदवारले प्रमुखमा विजयी हासिल गरेका छन् ।


प्रकाशित | ३ जेष्ठ २०७९, मंगलवार ०७:५७