एनआरएनए क्यानडा बैठक : आइसिसीमा पठाइएका १४९ प्रतिनिधीहरु सदर गराए मात्र शुल्क बुझाउने निर्णय

सात सदस्यीय समिति गठन

गैर आवासीय नेपाली संघ क्यानडाले आइसिसीमा पठाएका प्रतिनिधीहरु सदर गराए मात्र सदस्यता शुल्क पठाउने निर्णय गरेको छ । एनआरएनए क्यानडाको शुक्रबार बसेको आकस्मिक बैठकले आइसिसीमा पठाइएका १४९ प्रतिनिधीहरु सदर गराए मात्र शुल्क बुझाउने निर्णय गरेको हो ।

क्यानडाले प्रतिनिधी समस्या समाधान गरि आइसिसीमा सदस्यता शुल्क पठाउन सात सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा चेयरपर्सन सम्राट थापा, अध्यक्ष दिपक गौतम, महिला उपाध्यक्ष संगीता जीसी, महासचिव अनुप सुबेदी, कोषाध्यक्ष याम खत्री, अल्वर्टा संयोजक बाबुराम बानिया, सदस्य विशाल घिमिरे रहनु भएको छ ।

समितिलाई आवश्यकता अनुसार निवर्तमान कार्यसमिति र आइसिसीसँगको समन्वयमा सकेसम्म छिटो प्रतिनिधी समस्या समाधान गरि केन्द्रमा रकम पठाउन अधिकार दिइएको छ ।

त्यस्तै, एनसिसी क्यानडाले आइसिसीबाट रकम भुक्तानीको ताकेता पत्र बारे गैर आवासीय नेपाली संघ क्यानडाको ध्यानाकर्षण भएको बताउँदै क्यानडाबाट पठाइएका १ सय ४९ जना प्रतिनिधीहरुको नाम मतदाता नामावलीमा समावेश गर्न आइसीसीलाई अनुरोध गर्दा पनि त्यसमा सुनुवाई नभएपछि रकम रोकिएको जनाएको छ ।

‘क्यानडाबाट ४३ सय ३० सदस्यहरुको रकम बुझाइसकेपछि त्यसबापतको प्रतिनिधि संख्या पाउनु हाम्रो अधिकार हो । त्यसैले यो विषयमा गैर आवासीय नेपाली संघ क्यानडा गम्भिर छ’, एनसिसी क्यानडाले जारी गरेको विज्ञप्तिमा भनीएको छ ।


प्रकाशित | २१ फाल्गुन २०७८, शनिबार १९:५८