लगानी सम्मेलनमा लगानीकर्ताको एकै स्वर : नेपाल लगानीको लागि उपयुक्त गन्तव्य

काठमाडौँ –  राजधानीमा लगानी सम्मेलन जारी छ । लगानी सम्मेलनमा सहभागि लगानीकर्ताले नेपाल लगानीको लागि उपयुक्त गन्तब्य मुलुक भएको भन्दै सबैमा लगानीका लागि अपिल गरेका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको भन्दै लगानी गर्न सबैमा अपिल गरेका हुन ।

नेपाल राजनीतिक स्थायीत्व कायम भएको, लगानीको वातावरण सृजना भएको, यातायातको पहुँच सबै ठाउँमा पुगेको जस्ता उदाहरण पेश गर्दै लगानीको लागि नेपाल उपयुक्त गन्तब्य भएको उल्लेख गरिएको छ ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, एशियाली विकास बैंक, बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, सतलज विद्युत् निगमका प्रतिनिधिले नेपालमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिने धारणा राख्दै उपयुक्त समयमा लगानी गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालमा लगानीको लागि उपयुक्त समय भएको बताउनुभयो । वैदेशिक लगानी भित्र्याउन एकदार प्रणाली लागू गरेको, नेपालमा स्थापित भइसकेका केही बहुराष्ट्रिय कम्पनी युनिलिभर, टेलिकम्युनिकेशन कम्पनीलगायतले उचित मुनाफा आर्जन गरिरहेको सन्दर्भ पेश गर्दै अध्यक्ष राणाले सम्पूर्ण लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह समेत गर्नुभयो । उहाँले नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि पर्याप्त अवसर रहेकोमा विश्वस्त पार्नुभयो ।


प्रकाशित | १६ चैत्र २०७५, शनिबार १३:४३