कालिन्चोकको समृद्धिको लागि मेरो उम्मेदवारी : गणेश शिवाकोटी

चरिकोट । नेकपा एमालेका तर्फबाट कालिन्चोक गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार गणेश शिवकोटीले कालिन्चोकको समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । नेकपा एमाले कालिञ्चोक गाउँपालिका ६ नं वडा कमिटीको चुनावी कोण सभालाई सम्बोधन गर्दै शिवाकोटीले कालिन्चोकको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको हो ।

कालिन्चोकमा यसअघि अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा एमालेले जितेको बताउँदै अध्यक्षका उम्मेदवार शिवाकोटीले यो पटक सबै वडा जित्ने र एमालेले श्ुरु गरेका अधुरा योजनाहरुलाई पुरा गर्न लागिपर्ने बताउनु भयो ।

एमालेकाविरुद्ध अघिल्ला निर्वाचनमा पनि गठबन्धन भएको स्मरण गर्दै शिवाकोटीले भन्नु भयो, ‘एमालेका लागि गठबन्धन कुनै नौलो होइन, हामीले ०७४ सालमै गठबन्धनसँग फेस गरिसकेका छौ ।’

यो पटक अझ धेरै एमालेको पक्षमा जनलहर देखिएको बताउँदै उहाँले कालिन्चोक गाउँपालिकामा आफ्नो नेतृत्वप्रति समर्थन जनाउँदै जोस जाँगर लिएर अन्य पार्टी छाडेर एमालेमा प्रवेश गर्नेको लहर लागेको बताउनु भयो ।

सोही अवसरमा लापिलाङमा विभिन्न अल्पसंख्यक जातजातीको बसोबास रहेको भन्दै थामी जातीले परम्परागत रुपमा बन्दै आएका डोका, डालादेखि निगालोबाट बन्ने सामानहरुलाई कालिन्चोकभन्दा बाहिर लगेर बेच्ने र कला कौशललाई प्रदर्शन गर्ने वातावरण बनाउने बताउनु भयो ।

कालिन्चोकमा बसोबास गर्ने सबै जातजाती, समुदाय र भुगोलका मानीस एउटै परिवार भएको बताउँदै उहाँले सबैको भावनालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा कालिन्चोक भुगोल भएका प्रदेश नेता बालकृष्ण शिवाकोटी, डबल पाण्डे, कालिका पाठकलगायतले कालिन्चोकको समृद्धि, विकास र अधुरा योजना पुरा गर्न एमालेको नेतृत्व अपरीहार्य भएको बताउनु भएको थियो ।

उपाध्यक्ष उम्मेदवार कविता थामीले कालिन्चोक गाउँपालिकामा विकास र समृद्धि एमालको नेतृत्वमा मात्र सम्भव रहेको बताउनु भयो ।


प्रकाशित | २२ बैशाख २०७९, बिहीबार १९:५८