थ्री स्टार हाइड्रोपावरको उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खोटाङ – थ्री स्टार हाइड्रोपावरको उत्पादन शूरु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको साप्सुखोलास्थित बेलडाँडामा थ्री स्टार हाइड्रोपावर लिमिटेड भक्तपुरले निर्माण गरेको ६.६ मेगावटको अर्ध जलाशययुक्त हाइड्रोपावरको उत्पादन शूरु भएको हो ।

खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेको साप्सु खोलाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो  ।

राजापानीको बेलडाँडामा रहेको पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत् आयोजना शूरु गरेको थियो । आयोजनाको काम सम्पन्न भएसँगै गएको १४ मंसिरदेखि परीक्षण उत्पादन सुरु गरिएको थ्री स्टार हाइड्रो पावर कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताउनुभयो ।

वर्षायाममा ६ दशमलव ६ मेगावाट विद्युत् उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमतामा ह्रास आउने भएकाले हिउँदमा पिकआवरमा पूर्णक्षमताकै विद्युत् आपूर्तिका लागि रिजर्भर निर्माण गरिएको छ ।

थ्री स्टारको डेढ अर्ब लगानीमा दुई वर्षमा निर्माण भएको हाईड्रोपावरको वयर, अन्डर स्लुस गेट, इन्टेक गेट, ग्राभेल ट्रयाप, डिसेन्ज, क्यानल, रिजर्भ पोखरी साप्सुखोलाको बसुवामा निर्माण गरिएको छ । बसुवादेखि ४ किलोमिटर हेडड्रेस पाइपमा पानी ल्याएर बेलडाँडामा रहेको विधुत गृहमा झारेर विधुत उत्पादन गरिएको हो।

आयोजनामा बनाएको हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपुँजी लगानी रहेको छ ।


प्रकाशित | ६ माघ २०७८, बिहीबार १९:५३