मैले पाँच वर्षमा गरेको काम नै मेरो जीतको आधार हो : बासुदेव थापा, मेयरका उम्मेदवार

भक्तपुर । सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले पाँच वर्षमा गरेको काम नै आफ्नो जीतको प्रमुख आधार भएको बताउनु भएको छ । थापाले अघिल्लो चुनावमा ४२ बुँदे घोषणापत्र जारी गरेकोमा साढे तीन वर्ष नपुग्दै पूरा गर्न सफल भएको बताउँदै पाँच वर्षमा गरेको काम नै आफ्नो जीतको प्रमुख आधार भएको बताउनु भएको हो ।

‘सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो र एमालेको नेतृत्व चाहिन्छ भन्ने कुरा नगरबासीले बुझेका छन्’, थापाले भन्नु भयो, ‘विशेष गरि चुनावमा मैले पाँच वर्षमा गरेको काम नै मेरो जितको आधार हो भन्ने लाग्छ ।’

पाँच वर्षमा घोषणपत्रमा भनेभन्दा धेरै काम गर्न सफल भएको उहाँले बताउनु भयो । ‘यो अवधिमा १५ अर्बको पूर्वाधारको काम भएको छ । प्रदेश, संघ र विभिन्न अंगहरुबाट बजेट ल्याउन सफल भएका छौ । मोटामोटी रुपमा चार सय पृष्ठको पुस्तक नै निकालेर कहाँ कहाँबाट बजेट आयो र के कति काम भयो भनेर हामीले बुँदागत रुपमा सार्वजनिक पनि गरिसकेका छौ’, थापाले भन्नु भयो ।

पाँच वर्षमा मुख्य रुपमा पक्की मोटरबाटो मात्र ११० किलोकिलोमिटर पिच गरेको, पक्की मोटरबाटो पुल ३३ वटा निर्माण गरेको, सामुदायिक प्रशासकीय भवन १९ वटा निर्माण भएको, नगर अस्पताल १ वटा, १० वटा स्वास्थ्य चौकी, बाटो ब्लक विछ्याउने काम ७ किलोमिटर, ढल विछ्याउने काम ४० दशमलव १ किलोमिटर, ३७ वटा सामुदायिक विद्यालयको पक्की भवन, १० वटा खानेपानी ट्याकी, खानेपानी पाईप विछ्याउने काम २० किलोमिटर, सिचाई कुलो २२ किलोमिटर, ट्रस पुल ४ वटा, बाटो सिमांकन २४ किलोमिटर, पाटी÷प्रतीक्षालय ९ वटा, खेल मैदान १ वटा निर्माण भएको बताउनु भयो ।

त्यस्तैगरि, नंखेलमा ७४ रोपनी क्षेत्रफलमा ल्याण्ड फिल्डिङ मार्फत रंगशाला निर्माणको काम अगाडि बढाइएको पनि उहाँले बताउनु भयो । नवौ नगर सभाले पास गरेर दुई करोड बजेट छुट्याउँदै जग्गा छुट्याउने काम अन्तिम चरणमा पुगिसकेकाले आगामी कार्यकालमा केन्द्रीय सरकारसँग बजेट मागेर निर्माण कार्य शूरु गरिने थापाले बताउनु भयो ।

‘हामीले नगरपालिकाको प्रशासकीय भवन पनि सिलान्यास गरेका छौ । तीन सय वटा साधन पार्किङ गर्न सकिने पाँच तलाको भब्य हजार जना क्षमताको हलसहितको भवन बनाउन दुई चार वर्ष नै लाग्ने हुनाले त्यो पूरा गर्न सकेका छैनौ । कोरोनाको कारण पनि निर्माणमा केहि ढिलाई भए पनि आगामी दिनमा यो पूरा गर्नेछौ’, थापाले भन्नु भयो ।

नगरपालिकामा थुप्रै मठमन्दिर पुर्ननिर्माण गरिएको बताउँदै थापाले अनन्तलिंगेश्वरमा भब्य मन्दिर बनाइएको, केदारनाथको शिर डोलेश्वरमा सांसद विकास कोषबाट दुई करोड बजेट राखेको र अन्य साना तिना थुप्रै शिवालय पनि बनाएको बताउनु भयो ।

पहिलो कार्यकालमा घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गर्नु भएको थापाले समग्रमा पाँच वर्षे कार्यकाल अत्यन्तै उपलब्धीमूलक रहेको बताउनु भयो । थापाले पाँच वर्षमा नगरलाई जग बसाउने काम गरेको बताउनु भयो ।

‘तत्कालीन अवस्थामा गाउँहरुलाई गाभेर बनाइएको नयाँ नगरपालिकामा विकास निर्माणको कार्य अगाडि बढाउन निकै चुनौती थियो । काठमाडौं उपत्यकामै भएर पनि भक्तपुरको दक्षिण क्षेत्र विकासमा निकै पछि परेको थियो । त्यहीमाथि नगरपालिकाको पूर्वी क्षेत्र त हरेक क्षेत्रमा पछि थियो । तर पाँच वर्षमा सूर्यविनायको पूर्वी क्षेत्र हरेक हिसावले अगाडि बढेको छ । पूर्वाधारदेखि विकास निर्माणका हरेक क्षेत्रमा फड्को मार्न सफल भएको छु’, उहाँले भन्नु भयो ।

नगरमा विकासको मुहार फेरिएको बताउँदै थापाले यो अवधिमा विकास निर्माणका महत्वपूर्ण कार्यहरु भएको तर नगरको दिगो विकास तथा समृद्ध नगर बनाउने दिर्घकालीन योजनाहरु भने पूरा गर्न बाँकि रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो काम तत्कालै पूरा गर्न सकिने कुरा भएन । त्यसैले आगामी कार्यकालमा यी सबै योजनालाई पूरा गर्नका लागि मेरो उम्मेदवारी हो ।’

थापाले अबको पाँच वर्षमा प्रत्येक नगरबासीको घरघरमा खानेपानीको ब्यवस्थापन गर्ने, अधुरा भौतीक पूर्वाधार योजनाहरु पूरा गर्ने, मठ मन्दिर र हरियाली डाँडा काँडाहरुलाई पर्यटन पबद्र्धन गर्ने, आयमूलक, सीपमूलक र रोजगारीमूलक काम गर्ने, प्रत्येक बाटोहरु पिच गर्ने लगायत योजना रहेको बताउनु भयो ।


प्रकाशित | १९ बैशाख २०७९, सोमबार २१:३८