कांग्रेसले भन्यो: नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्नु सैद्धान्तिक रुपमा नै गलत हो

काठमाडौं: नेपाली काग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा पनि राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्दाबली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको समेत बताएको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “ मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत हो । प्रधानमन्त्री ओली जीले विद्यादेवी भण्डारीलाई कार्यकारी राष्ट्रपति जस्तो या राजामहाराजा जस्तो पोजिसनमा राख्न खोजिरहेको जुन खालको बजारमा हल्ला भएको थियो त्यसलाई अझै अगाडि बढाउने ढंगले ल्याईएको छ । यो विल्कुलै संशोधन गर्नुपर्छ । ”


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १७:४७