कुँवर नेतृत्वको आइसीसीद्धारा एनसीसीलाई साझेदारीमा काम गर्न आह्वान

काठमाडौ : विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुलाई साझेदारीमा काम गर्न आह्रवान गरेको छ । महासचिव जानकी गुरुङले एक विज्ञप्ति जारी गर्दै एनसीसीलाई एनआरएनए आइसीसी सँग साझेदारीमा काम गर्नेबारे यथासक्य निर्णय गरि पठाउन आह्रवान गर्नु भएको हो ।

‘वर्तमान आइसीसीले समय र परिस्थिति अनुसार परिमार्जित कार्यविधि, नियमावली तय गर्दै एनसीसी र आइसीसीले आपसी साझेदारीमा काम गर्ने योजना गरेको जानकारी गराउँदछु। एनसीसी दर्ता भएको देशको कानुन, गैर आवासीय नेपाली संघको उद्देश्य मुताविक रहेर गैर आवासीय नेपालीहरुका प्रमुख मुद्धाहरुको समाधान गर्न र नेपाल सरकारसँग सहकार्य गर्दै अरु थुप्रै काम गर्नको लागि यहाँहरुसँग साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने कुरामा हाम्रो विश्वास रहेको छ;, जारी विज्ञप्तिमा भनीएको छ ।

विगतमा जस्तो आइसीसी र एनसीसी केन्द्र शाखा नभएर फरक दुई संस्थाबीच आपसी साझेदारी सम्झौतामा काम गर्ने कार्यविधि भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, नव निर्वाचित अध्यक्ष कुँवर र निर्वाचित पदाधिकारीहरुले १० औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनबाट पारित संघको बिधान २००३ को संसोधन २०२२ प्रति र निवेदन सहित मार्च २७ मा परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको पनि उल्लेख गरिएको छ ।

यस्तो छ पत्र

श्री अध्यक्ष ज्यूहरु तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद

बिषय:- साझेदारीमा काम गर्ने सम्बन्धमा

सर्वप्रथम सम्पूर्ण एनसीसी अध्यक्षहरु र एनसीसी कार्यसमितिहरुलाइ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को तर्फबाट २०२१-२०२३ कार्यकालमा हार्दिक स्वागत गर्दछौं।

यहाँहरुलाइ थाहा नै छ अक्टुवर २०२१ मा हुनुपर्ने गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन समयमा सम्पन्न हुन सकेन। त्यसलाई गति दिनको लागि संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पटक पटक पत्रद्वारा निर्देशन पठाएको थियो।
मन्त्रालयको भद्र २५, २०७८ को पत्रले परिस्थितिको जानकारी र निर्देशन गरेको थियो। दोश्रो पत्र २०७८/०८/०३ (नोवेम्बेर १९, २०२१) को पत्र संख्या ०७८/७९/NRN/10th Conference को चलानी नम्बर ३२८५ अनुसार नेपाल सरकारको एनआरएन ऐन र गैरआवासीय नेपाली संघको बिधान अनुसार महाधिवेशन समयमा नभएकोले सो महाधिवेशन सम्पन्न गर्नको लागि संघका तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेलाइ महाधिवेशन गराउन जिम्मेवारी सुम्पिएको थियो। त्यसैगरी मन्त्रलयले चैत्र १२, २०७८ मा चलानी नम्बर ६४६० को अर्को पत्रमा संघको १० औं अन्तराष्ट्रिय सम्मेलन दुइ फरक रुपमा तयारी भएको सम्बन्धमा ध्यानाकर्षण गराउँदै लेखेको छ। उक्त पत्रमा मन्त्रालयले तत्कालनी अध्यक्ष कुमार पन्तलाइ चुनौती दिंदै प्रमुख संरक्षक डा शेष घलेलाई बोधार्थ दिएको छ। अर्थात मन्त्रालय आफूले पहिला दिएको निर्देशन अनुसार महाधिवेशन सम्पन्न गर्नको लागि ताकेता गरेको थियो।

२०२१ अक्टोबरमा सम्पन्न हुन नसकेको संघको १० औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन राष्ट्रिय समन्वय परिषदहरुको मार्च ६, २०२२ मा सम्पन्न बैठकको निर्णय तथा संघको विधानको धारा १६.१.४ ले दिएको अधिकार एवं नेपाल सरकार परराष्ट्र मन्त्रालयको प.सं २०७८।७९।NRN/10th Conference च.नं. ३२८५ मिति २०७८।०८।०३ को पत्र अनुसार संघका प्रमुख संरक्षक डा शेष घलेज्यूद्वारा आह्वान भई २०२२ मार्च २२ देखि २५ सम्म बिधि सम्मत रुपमा काठमाण्डौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको कुरा यहाँहरुलाई यस पहिला नै जानकारी गराइएको छ।

सोहि १० औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा आगामी कार्यकाल २०२१-२०२३ को लागि नयाँ नेतृत्व चयन भएको व्यहोरा यहाँहरुलाई पुन:अवगत गराउन चाहन्छु। मन्त्रलायले आफूलाई दिएको जिम्मेवारी अनुसार १० औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन सम्पन्न भएको जानकारी तत्कालिन प्रमुख संरक्षक शेष घलेले मन्त्रालयलाइ मार्च २५, २०२२ मा नै गराउनु भएको छ। उहाँले सो जानकारीमा महाधिवेशन सम्पन्न भएको र बिधानले दिएको बिधि अनुसार नयाँ नेतृत्व चयन भएको र सो नेतृवको नामावली सहित उल्लेख गर्नुभएको छ।

त्यसैगरी, नव निर्वाचित अध्यक्ष बिनोद कुँवर र हामी निर्वाचित पदाधिकारीहरुले १० औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनबाट पारित संघको बिधान २००३ को संसोधन २०२२ प्रति र निवेदन सहित मार्च २७, २०२२ (२०७८/१२/१३) मा (दर्ता नम्बर ६३१५) दर्ता गरिएको जानकारी गराउँदछु।

त्यसपश्चात, यो वर्तमान आइसीसीले समय र परिस्थिति अनुसार परिमार्जित कार्यविधि, नियमावली तय गर्दै एनसीसी र आइसीसीले आपसी साझेदारीमा काम गर्ने योजना गरेको जानकारी गराउँदछु। एनसीसी दर्ता भएको देशको कानुन, गैरआवासीय नेपाली संघको उद्येश्य मुताविक रहेर गैरआवासीय नेपालीहरुका प्रमुख मुद्धाहरुको समाधान गर्न र नेपाल सरकारसँग सहकार्य गर्दै अरु थुप्रै काम गर्नको लागि यहाँहरुसँग साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने कुरामा हाम्रो विश्वास रहेको छ।

यसका साथै विगतमा जस्तो आइसीसी र एनसीसी भनेको केन्द्र र शाखा जस्तो नभएर दुइ फरक संस्थाबीच आपासी साझेदारी संझौतामा काम गर्ने हाम्रो कार्यविधि भएको जानकारी गराउँदछु।

तसर्थ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) ले हामी गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनअरएनए आइसीसी) सँग साझेदारीमा काम गर्नेबारे यथासक्य निर्णय गरि पठाउनहुन अनुरोध गर्दछु। तत्पश्चात हामी साझेदारी संझौता तर्फ जानेछौं।

यहाँहरुको निर्णय बिलम्ब भएमा हामीले विकल्पमा निर्णय गर्दै काम गर्नुपर्ने भएकाले यहाँहरुको सकारात्मक र सिघ्र निर्णयको लागि पनि स्मरण गराउन चाहन्छु।

धन्यवाद

जानकी गुरुङ

महासचिव

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद

अप्रिल २२, २०२२


प्रकाशित | १० बैशाख २०७९, शनिबार २०:०५