नेपाल एयरलाइन्सको साउदी अरेबियाको रियादमा उडान सुरू, भाडादर ३७ हजार कायम

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान सुरू गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा पहिलो उडान भरेको छ । निगमका अनुसार नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा हाल सातामा दुई वटा उडान सञ्चालन गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादका लागि पहिलो उडान शुक्रबार साँझ सवा सात बजे प्रस्थान गरेको निगमले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि गत फागुन २२ गते उडान अनुमति प्राप्त भएपछि उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको हो ।

काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रूपैयाँ कायम गरिएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार हाल एकतर्फी भाडादर कायम गरिएको हो । काठमाडौं–रियाद एकतर्फी उडान अवधि छ घन्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि चार घन्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैंगलोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ। नयाँ गन्तव्य साउदी अरेबियाको रियाद थपिएसँगै अब आठ मुलुकका दस वटा गन्तव्यहरूमा उडान सञ्चालन गर्ने भएको हो।

ती गन्तव्यमध्ये निगमले दिल्लीमा दैनिक दुई वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्यमा साप्ताहिक रूपमा क्रमशः मुम्बई, बैंगलोर, क्वालालम्पुर र बैंककमा तीन–तीन वटा, दोहामा पाँच, दुबईमा पाँच, हङकङमा एक र नारितामा तीन वटा उडान सञ्चालन गर्दै आएको छ।

त्यस्तै दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रूपमा सञ्चालन गर्ने तयारी समेत निगमको रहेको जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७९, शनिबार ०७:५७