दिल्लीको नजर ‘टप टु’मा, सन्दीपको सम्भावना कति ?

एजेन्सी :  इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज (शनिबार) दुई खेल हुदैछ । समुहको शीर्ष दुईमा स्थान बनाउने लक्ष्य सहित दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससंग प्रतिस्पर्धा गर्दैछ । अर्को खेलमा प्लेअफमा स्थान बनाउन संघर्षरत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ । पहिलो खेलमा राजस्थानविरुद्व मैदान उत्रदै गर्दा दिल्लीको लक्ष्य शीर्ष दुईमा स्थान बनाउनु हुनेछ ।

घरेलु मैदानमा खेल्दा कुनैपनि टोलीलाई फाईदा हुने गर्छ । सबै कुरा आफु अनुकुल बन्दा विपक्षीलाई दबाबमा राख्न सकिने विश्वास गर्न सकिन्छ । तर दिल्लीले घरेलु मैदानमा खेलिएका ६९ खेलमा मात्र ३० खेलमा जितेको छ । तर पछिल्लो समय दिल्लीको रेकर्ड सुधार उन्मुख छ । उसले यस सिजन ६ खेलमा तीन खेल भने जितेको छ । सन् २०१२ पछि पहिलो पटक प्लेअफमा छानिएको दिल्ली अब शीर्ष दुईमा छनोट हुदै फाईनलमा स्थान बनाउने दाउमा छ ।

प्रतियोगिताबाट बाहिरिसकेको राजस्थान आजको खेलबा सुखद अन्त्य गर्न चाहन्छ । दिल्ली १६ अंक सहित तेस्रो स्थानमा रहदाँ छैटौ स्थानको राजस्थानको ११ अंक छ । राजस्थानविरुद्व मैदान उत्रदै गर्दा सबैको नजर दिल्लीमा प्लेईङ सेटमा रहनेछ । दिल्लीले चेन्नेईविरुद्वको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई प्लेईङ सेटमा मौका दिएको थिएन । उसले सुरुमा सन्दीपको नाम समावेश गर्दै प्लेईङ सेटको घोषणा गरेपनि अन्तिम समयमा उनलाई टिम बाहिर राखेको थियो । सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १३:०१