समतालाई ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ हस्तान्तरण

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाण्डौलाई ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ हस्तान्तरण गर्नुभएको छ । एक सय रुपैयाँमा विद्यार्थीलाई पठाएर ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ राख्न सफल स्कुललाई प्रधानमन्त्री ओलीले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ् रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले एक सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई  गुन लगाएको बताउनुभयो । ‘राज्यले लिनु पर्ने दायित्व तपाईँहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’

प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर नरहने बताउनुभयो । कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिति रहेको थियो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १४:१४