साढे ११ अर्ब लगानीमा ७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालन, जजिराले सातामा तीन उडान भर्ने

काठमाडौं । ७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट सञ्चालनमा आएको हो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै बिहीबार बिहान यति एयरलाइन्सको एटीआर–७२ विमानले भैरहवा–काठमाडौँका लागि पहिलो उडान भरेसँगै विमानस्थल सञ्चालनमा आएको हो ।  योसंँगै सो विमानस्थलबाट उडानअवतरण सुरु भएको छ ।

विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको छ । आन्तरिक उडानका लागि बिहीबार सञ्चालनमा आएको भए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन आगामी २ जेठका दिन पर्ने बुद्ध जयन्तीमा कार्यक्रम छ । जेठको २ गते राति २ बजेर ३० मिनेटमा कुबेत सिटीका लागि भौरहवाबाट जजिरा एयरवेजले विमान एयरबस–३२० निओले व्यावसायिक उडान भर्नेछ । सातामा तीन उडान गर्ने गरी जजिरा एयरवेजले उडान अनुमति पाएको छ ।

बिहीबारबाट नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो पुरानो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ ।

एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल साढे ११ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक पर्यटकका लागि महत्वपूर्ण रहेको छ ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँंगै पश्चिम भेगबाट कतारका लागि वैदेशिक रोजगारीका लागि काठमाडौं आइरहनु नपर्ने भएको छ । नयाँ विमान सेवाले कुबेतको राजधानी कुबेत सिटीबाट गौतमबुद्ध विमानस्थलमा सिधा उडान भर्ने भएका कारण नेपालको पश्चिमी भेगबाट वैदेशिक रोजागारीमा जानेका लागि वैकल्पिक व्यवस्था भएको छ । कुबेत–भैरहवा–कुबेत सिटीमा सिधा उडान हुने भएसँगै नेपालको पश्चिम भेगबाट वैदेशिक रोजगारीका लागि काठमाडौं आउनुु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो विकल्पको रूपमा विमानस्थल तयार भएका कारण अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम तथा अन्य प्राविधिक समस्या आएर अन्तर्राष्ट्रिय उडानहरू मुलुक बाहिर डाइर्भट गर्नु नपर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका विमानहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेमा विमान अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । यसअघि मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा छिमेकी मुलुकमा विमान डाइभर्ट हुँदै आएका थिए ।

सन् २०१४ मा सुरु भएको सो विमानस्थल सन् २०१७ को अन्त्यमा निर्माण सम्पन्न हुनु पर्ने भए पनि विभिन्न प्राविधिक कारणले गर्दा पाँच वर्ष ढिला सञ्चालनमा आउन लागेको प्राधिकरणले जनाएको छ ।

भैरहवा विमानस्थलले वार्षिक १५ लाखसम्म यात्रुलाई सेवा दिने अनुमान गरिएको छ। दसैंपछि निर्माण सुरु हुने टर्मिनल भवन बनेपछि ७० लाख यात्रुलाई सेवा दिनसकिने जनाइएको छ ।


प्रकाशित | ९ बैशाख २०७९, शुक्रबार ०९:३२