कागेश्वरी मनोहरा नगरपालिकाले चक्रपथमा परेका रोक्का जग्गाको फुकुवा गर्न सिफारिस दिने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले चक्रपथमा परेका रोक्का जग्गा फुकुवा गर्न सिफारिस दिने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा चक्रपथमा परि रोक्का गरिएका जग्गाको लगत कट्टा गरि बाँकि जग्गाको पूर्जा लिन नगरपालिकामा निवेदन दिएमा बाटोको लगत कट्टा गरी जग्गाको रोक्का फुकुवा गर्न मालपोत तथा नापी कार्यालय साँखूलाई सिफारिस उपलब्ध गराउने उल्लेख गरेको हो ।

पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना छ । तर यो योजना विगत आठ वर्षदेखि अलपत्र छ ।

स्मार्ट सिटीको लागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट ब्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरु ल्याउनुपर्ने भन्दै यसअघि पूर्वी भेगका ६ वटा नगरपालिकासहित सरोकारवालाको बैठकले स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय कमिटी गठन गरेको थियो । कमिटिको संयोजकमा यसै नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की रहनु भएको छ ।


प्रकाशित | ३१ असार २०८०, आईतवार २१:५५