काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएका छन् । सत्ता गठबन्धनको आज बसेको बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा भागबन्डाको टुंगो लगाएका हुन ।
भागबन्डामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् । उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एक/एक महानगर प्रमुख पाएका छन् ।
माओवादीले भरतपुरमा मेयर पाउँदा एकीकृत समाजवादीले पोखराको मेयरको उम्मेदवारी हात पारेको छ । त्यस्तै दुवै दलले महानगरमा उपप्रमुख एक एक स्थानमा पाउने सहमति भएको छ ।
काठमाडौंमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा ललितपुरमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
त्यस्तै, उपमहानगरपालिकामा माओवादीले दुई स्थानमा मेयर हात पारेको छ । घोराही र जितपुर सिमरामा माओवादीले मेयर पाउदा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरको प्रमुख पाएको छ । उपमहानगरमा माओवादीले एक स्थान बढी पाएको छ ।
उपमहानगरको उपप्रमुखमा माओवादीले दुई सीट हात पार्दा एकीकृत समाजवादीले तीन स्थान हात पारेको छ । माओवादीले धरान र घोराहीमा उपप्रमुख पाएको छ भने इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपप्रमुख हात पारेको छ ।
प्रतिनिधि सभामा माओवादी केन्द्रका ५३ सांसद रहँदा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा २२ जना सांसद रहेका छन् ।
सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाएको छ । कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ ।
महानगरमध्ये कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुख पाएको छ । त्यस्तै जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरपालिकामा कांग्रेसले उपप्रमुख पाउने सहमति बनेको छ ।
जसपाले विराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पाउने भएको छ ।


प्रकाशित | ७ बैशाख २०७९, बुधबार २०:२८