मेलम्चीको पानी अब घरघरमा

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ ।

प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका समेत तय भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौँ उपत्यकावासीको चाहना आगामी आइतबारदेखि पूरा हुने बताउनुभएको हो । मन्त्री चौधरीले मेलम्चीको पानी समानुपातिक ढङ्गले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्न पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० र आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिनुभयो । उहाँले मेलम्चीको वैकल्पिक स्रोतका रूपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्नसकिने विषयमा अध्ययन भइरहेको पनि जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरुङ मार्ग हुँदै प्रशोधन केन्द्रमा जम्मा भएको पानी परीक्षणपछि आइतबारदेखि उपत्यकामा वितरण गरिने जानकारी गोरखापत्रलाई दिनुभयो । पौड्यालले भन्नुभयो, “सुन्दरीजलदेखि मेलम्चीको अम्बाथानसम्मको सुरुङको तह पानीले भरिएको छ । आइतबारसम्म प्रशोधन केन्द्रमा पानी भरिएसँगै वितरण हुन्छ ।”

गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा गएको पहिरोसँगै आएको बाढीका कारण आयोजना क्षतिग्रस्त बनेको थियो । गत माघ १४ गतेदेखि आयोजना सफाइ तथा मर्मतको काम सुरु भएको थियो । खानेपानी मन्त्री चौधरीले मुहानबाट गत चैत २९ गते मुहानबाट पानी पुनः पथान्तरण गर्नुभएको थियो । आयोजनाका कार्यकारी निर्देशक पौड्यालले सुरुङ मार्ग भर्ने क्रममा प्राविधिक रूपमा धेरै पानी पठाउन नमिल्ने भए पनि आइतबारदेखि भने दैनिक १७ करोड लिटर पानी सुन्दरीजल आइपुग्ने बताउनुभयो । यो समाचार गोरखापत्रमा छ । 


प्रकाशित | ६ बैशाख २०७९, मंगलवार ०७:४१