काठमाडौंमा घरजग्गा कारोबार बढ्यो, चैतमा मात्र ९ हजार घरजग्गा किनबेच

काठमाडौं : काठमाडौं उपत्यकामा घरजग्गा कारोबार बढेको छ । उपत्यकामा चैत महिनामा उच्च रुपमा घरजग्गा  किनबेच भएको हो।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ५५ सय ३६ घरजग्गा किनबेच भएकोमा चैत महिनामा तीन वटा जिल्लाको मालपोत कार्यालयबाट ८ हजार ८५३ वटा घरजग्गाको किनबेच भएको छ ।

चैतमा महिनामा उपत्यकामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । मालपोत कार्यालयबाट २ हजार ९६ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, भक्तपुरबाट १९ सय ४९, कलंकीबाट १७ सय २४, साँखुबाट १ हजार ३८, चावहिलबाट ७ सय ५८, डिल्लीबजारबाट ३१५, टोखाबाट २९३, गोटीखेलबाट ४१ र मनमैजुबाट ६३९ वटा घरजग्गाको किनबेच भएको छ ।

चैतमा देशभर ७० हजार ८ सय ३० घरजग्गा किनबेच भएको छ । विभागका अनुसार मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएको छ ।

चैत महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । इनरुवा मालपोत कार्यालयबाट चैत महिनामा मात्रै ३५ सय २३ घरजग्गा किनबेच भएको छ ।

विभागका अनुसार चैत महिनमा देशभरको मालपोत कार्यालयबाट ५ अर्ब ७५ करोड ७४ लाख ८८ हजार राजस्व संकलन भएको छ ।


प्रकाशित | ३ बैशाख २०७९, शनिबार १९:३४