सरकारले सिफारिस गरेका २० राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी दिन सकिने

काठमाडौं : सरकारले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

त्यस्तै, बैठकले राजदूतहरू उपर उजुरी आह्वान पनि गरेको छ ।  समितिका सभापति लक्ष्मण लाल कर्णले बैठकले प्रस्तावीत २० जना राजदूतहरूमाथि उजुरी आह्वान गर्ने निर्णय गरेको बताउनु भयो । गत चैत्र २४ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खाली रहेका विभिन्न देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित राजदूतहरूको उजुरीमाथि संसदीय समितिले छानविन गर्नेछ । त्यसपछि उनीहरूको योग्यता, क्षमता र कार्ययोजनाको मूल्याङ्कन गरी समितिले उनीहरूको नाम अनुमोदन गर्नेछ । समितिले अनुमोदन गरेका राजदूतहरूलाई राष्ट्रपतिले नियुक्त दिने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषद् बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरव राजदूत सिफारिस गरिएको थियो ।

घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो ।


प्रकाशित | २ बैशाख २०७९, शुक्रबार १८:५९