आयरल्याण्डबासी नेपाली समुदायमा एनआरएनए एनसिसी अध्यक्ष मिलन छन्त्यालको अपिल

मिलन छन्त्याल, अध्यक्ष, एनआरएनए आयरल्याण्ड

आदरणीय आयरल्याण्डबासी नेपाली आमा बुबा, दाजुभाई तथा दिदीबहीनीहरुमा हार्दिक नमस्कार

यतिखेर विश्वभरि कोरोनाको महामारी फैलिरहेको हामीलाई अवगतै छ । कोरोना भाइरस संक्रमणले संसार नै तहस नहस बनाई राखेको अवस्थामा आयरल्याण्डमा बसोबास गर्नु हुने नेपाली समुदाय पनि यस संक्रमणबाट अछुतो रहन सकेको छैन।

यहि संक्रमणबाट आयरल्याण्डमा बस्नु हुने उजेली कुमारीले ज्यान गुमाउनु भएको छ भने पुरै परिवार संक्रमित हुनु भएको पुष्टि भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद, आयरल्याण्ड, मृता आत्मा प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोकसन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस भनि प्रार्थना गर्न चाहन्छ।  हामीलाई प्राप्त जानकारी अनुसार आयरल्याण्डमा ९ जना संक्रमित हुनु भएको छ। उहाँहरुको उपचार भइरहेको र अवस्था चिन्ताजनक नभएको पनि जानकारी प्राप्त भएको छ । हामी आसा गरौ, उहाँहरु सबै चाँडै पूर्ण स्वस्थ भएर घर फर्कनुहुनेछ ।

यो रोगले कुनै देश, जात, धर्म, लिङ्ग र वर्ग छुट्टाउँदैन। यसबाट तपाई हामी कोही पनि कुनै पनि बेला ग्रसित हुन सक्छौ। त्यसैले नआत्तिन आग्रह गर्दै जो जहाँ हुनुहुन्छ सुरक्षीत भएर बसिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

एनआरएनए आयरल्याण्डले यहि विषम परिस्थितीमा दुखमा परेका नेपालीको लागि लक्षित गरि समस्यामा परेका नेपालीको सहयोगार्थ आर्थिक संकलन गर्न गइरहेको जानकारी गराउन चाहान्छु । आर्थिक संकलन अभियानमा आयरल्यानमा बस्नु हुने सम्पूर्ण नेपालीहरु प्रति सहयोगको लागि हार्दिक अपिल गर्न चाहन्छ। कृपया आर्थिक सहयोग गर्दा संस्थाको आधिकारिक बैंक खातामा मात्र जम्मा गर्नु हुन पनि अनुरोध गर्दछौ।

केहि दिन अघि एनआरएनए आयरल्याण्डको बैठक बसी आयरल्याण्डमा रहनुहुने नेपालीको विषयमा गहिरो छलफल गरेका छौ । हामीले ग्रसित परिवार र आयरल्याण्डमा रहनुहुने अन्य सम्भावित कुनै पनि ग्रसित नेपालीहरुको सहयोगको लागि संस्थाले संरक्षक समिति,, आयरल्याण्डमा रहेका सबै संस्थाको प्रतिनिधि हुने गरि बनाइएको सल्लाहकार समिति र वर्तमान कार्यसमिति, सबै सदस्य रहने गरि आपतकालीन कोभिड १९ आर्थिक संकलन समिति स्थापना गरेको छ।

साथै युरोप क्षेत्रीय उपसंयोजक तथा भू पु अध्यक्ष शुक्र राज न्यौपाने, अन्तरास्ट्रिय परिषद सदस्य बिनोद कार्की, निवर्तमान अध्यक्ष नवराज कोइराला, भुत पूर्व अध्यक्षहरु क्रमश शिव गौतम, गणेश प्रशाई, राजन काफ्ले, वर्तमान अध्यक्ष मिलन छन्त्याल, उपाध्यक्षद्वय अबेद्य पानि गौतम र राम सापकोटा, महिला अध्यक्ष सुनिता कार्की, महासचिव ओम अधिकारी, कोषाध्यक्ष सुमन गुरुङ र सदस्य प्रेम प्रसाद घले रहने गरि सचिवालय पनि गठन गरेको ब्यहोरा जानकारी गराउन चाहन्छौ।

अन्तमा, कोरोना महामारीले गर्दा तपाई हामी पनि महिनौदेखि घरभित्रै सुरक्षीत बसीरहेका छौ । आवश्यक सुरक्षा सावधानी अपनाउँदै सरकारको नियमलाई पालना गरिरहेका छौं । यो महामारी कतीञ्जेल चल्ने हो भन्ने यकीन नभएको अवस्थामा घरभित्रै सुरक्षीत बस्नुको तपाई हामीसँग अर्को विकल्प पनि छैन । त्यसैले सरकारी नियम पूर्ण पालना गर्दै एकअर्कालाई परेको समस्यामा सहयोगी भावनाा देखाउन पनि आग्रह गर्न चाहान्छु । साथै आफूले सकेको ठाउँबाट सक्दो सहयोग गरि समस्यामा परेकालाई उद्धार गर्न लागिपर्नु तपाई हाम्रो कर्तब्य भएकाले कर्तब्य पालनामा तपाई हामी सबै लागिपर्नुपर्नेछौ भन्ने विश्वास पनि ब्यक्त गर्न चाहान्छु । यो विषम परिस्थितिमा तपाई हाम्रो सानो सहयोग पनि कसैको लागि ठूलो हुन्छ भन्ने बुझदै सकेको सहयोग गरिदिन आग्रह गर्न चाहान्छु । यो बेलामा सबै एकजुट भएर विपत्तिको सामना गरौ, आसा गरौ, हामी बसेको देश पनि चाँडै कोरोनामुक्त हुनेछ । धन्यवाद ।


प्रकाशित | ३ बैशाख २०७७, बुधबार १३:५४