स्थानीय चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह

काठमाण्डौ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा आइरहेका अभिब्यक्तिप्रति गम्भिर ध्यानर्कषण भएको जनाएको छ । आयोगले स्थानीय चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू आइरहेको भन्दै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई त्यस्ता अभिब्यक्ति नदिन सजग गराएको हो ।

आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन निर्धारित समयमै गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरूप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले चुनावबारे अलमल सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिन सरोकारवाला सबैलाई आग्रह गर्नु भयो ।

प्रवक्ता पौडेलले चुनावका लागि आवश्यक पर्ने एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाका लागि ७० लाख ३३ हजार थान मतपत्र छापिएको जानकारी दिनुभयो । अहिले दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ भइरहेको उहाँको भनाइ छ ।

स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुँदैछ ।


प्रकाशित | १ बैशाख २०७९, बिहीबार १९:५२