सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा सवारी साधन हस्तान्तरण, कुनै पनि सुबिधा नलिने घोषणा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाबाट लिएको सुविधा आजबाट नलिने घोषणा गर्नु भएको छ । उहाँले नगरपालिकाबाट लिदै आएको सुविधा वापतको सवारी साधन आजैबाट प्रयोग नगर्ने निर्णय गर्दै सवारी साधन नगरपालिकालाई बुझाउनु भएको छ ।

आज नगरपालिका प्राङ्गनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेँललाई सवारी साधनको साँचो हस्तान्तरण गर्दै उहाँले सुविधाको सवारी साधन प्रयोग नगर्ने बताउनु भएको हो ।

नगर प्रमुख थापाले भन्नुभयो, ‘आजबाट नगरपालिकाको सुविधाको सवारी साधन प्रयोग नगर्ने भएको छु, त्यसैले सवारी साधनको साँचो हस्तान्तरण गरेको छु, बैशाख महिनाको तलब, भत्ता तथा कुनै पनि सुबिधा नलिने र राज्य कोषमै राखिदिने निर्णय गरेको छु ।’

उहाँले नगरपालिकामा नगर प्रमुख भएर आएपछि बिभिन्न सामाजिक क्षेत्र, मठ, मन्दिर, विद्यालयको निर्माणदेखि बिभिन्न सामाजिक काममा व्यक्तिगत खर्च मात्रै रु २७ लाख ५१ हजार वरावरको गरेको जानकारी दिनुभयो ।

थापाले नगरबासीको चाहनामा आगामी कार्यकालको लागि पुन: मेयरमा उम्मेदवारी बन्ने घोषणा गर्दै एमाले पार्टीमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।


प्रकाशित | २८ चैत्र २०७८, सोमबार १७:४०