नेपालमा बढ्न थाले पर्यटक, मार्चमा मात्र ४२ हजार भित्रिए

काठमाडौं : कोभिड कहरपछि पर्यटन क्षेत्र चलायमान बन्न थालेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन क्रमिक रूपमा बढिरहेको हो ।

यतिखेर प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटलहरू यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका व्यवसायीहरू उत्साहित छन् । नेपाल पर्यटन वोर्डका अनुसार मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७ सय ४७ विदेशी पर्यटक नेपाल आएका छन् । भारतीय पर्यटक सन् २०१९ को मार्चमाभन्दा सन् २०२२ को मार्चमा धेरै भित्रिएका छन् ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५ सय भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन् ।


प्रकाशित | २६ चैत्र २०७८, शनिबार १९:५५