आगामी कार्यकालमा अधुरा योजनाहरु पूरा गर्न लागिपर्नेछु : बासुदेव थापा (अन्तर्वार्ता)

पाँच वर्षे कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

समग्रमा मेरो पाँच वर्षे कार्यकाल अत्यन्तै उपलब्धीमूलक ठानेको छु । मैले नगरपालिकाको प्रमुखको जिम्मेवारी समालेपछि धेरै र निकै महत्वपूर्ण कार्य भएका छन् जो आम नगरबासीले अनुभव र मसहुस गरिरहनु भएको छ । अझ भन्नु पर्दा हामीले नेपालकै नमूना र उदाहरणीय रुपमा विकास निर्माणका कार्य गरेर देखाएका छौ ।

पाँच वर्षमा हामीले घोषणापत्रमा भनेभन्दा धेरै काम गर्न सफल भएका छौ । १५ अर्बको पूर्वाधारको काम भएको छ । प्रदेश, संघ र विभिन्न अंगहरुबाट बजेट ल्याउन सफल भएका छौ । मोटामोटी रुपमा चार सय पृष्ठको पुस्तक नै निकालेर कहाँ कहाँबाट बजेट आयो र के कति काम भयो भनेर हामीले बुँदागत रुपमा सार्वजनिक पनि गरिसकेका छौ ।

जस्तो यो अवधिमा महत्वपूर्ण कामको रुपमा पक्की मोटरबाटो मात्र ११० किलोकिलोमिटर पिच÷ढलान गरेका छौ । पक्की मोटरबाटो पुल ३३ वटा बनाएका छौ । मलाई लाग्छ, अब दुई÷तीन वटा बनेपछि सयौ वर्षसम्म नगरपालिकामा पुलको आवश्यकता पर्दैन ।

त्यस्तै, सामुदायिक प्रशासकीय भवन १९ वटा बनाएका छौ, नगर अस्पताल १ वटा, १० वटा स्वास्थ्य चौकी, बाटो ब्लक विछ्याउने काम ७ किलोमिटर, ढल विछ्याउने काम ४० दशमलव १ किलोमिटर, ३७ वटा सामुदायिक विद्यालयको पक्की भवन, १० वटा खानेपानी ट्याकी, खानेपानी पाईप विछ्याउने काम २० किलोमिटर, सिचाई कुलो २२ किलोमिटर, ट्रस पुल ४ वटा, बाटो सिमांकन २४ किलोमिटर, पाटी÷प्रतीक्षालय ९ वटा, खेल मैदान १ वटा निर्माण गरिसकेका छौ ।

त्यस्तैगरि, नंखेलमा ७४ रोपनी क्षेत्रफलमा ल्याण्ड फिल्डिङ मार्फत रंगशाला निर्माणको काम अगाडि बढाएका छौ । नवौ नगर सभाले पास गरेर दुई करोड बजेट पनि छुट्याएका छौ । अहिले जग्गा छुट्याउने काम अन्तिम चरणमा पुगिसकेको छ । यो कार्य सम्पन्न भएसँगै केन्द्रीय सरकारसँग बजेट मागेर निर्माण कार्य शूरु गर्नेछौ ।

हामीले नगरपालिकाको प्रशासकीय भवन पनि सिलान्यास गरेका छौ । तीन सय वटा साधन पार्किङ गर्न सकिने पाँच तलाको भब्य हजार जना क्षमताको हलसहितको भवन बनाउन दुई चार वर्ष नै लाग्ने हुनाले त्यो पूरा गर्न सकेका छैनौ । कोरोनाको कारण पनि निर्माणमा केहि ढिलाई भए पनि आगामी दिनमा यो पूरा गर्नेछौ ।

नगरपालिकामा थुप्रै मठमन्दिर पुर्ननिर्माण गरेका छौ । अनन्तलिंगेश्वरमा भब्य मन्दिर बनाएका छौ । केदारनाथको शिर डोलेश्वरमा पनि माजनीय महेश बस्नेको सांसद विकास कोषबाट दुई करोड राखेका छौ । अन्य साना तिना थुप्रै शिवालय पनि बनाएका छौ ।

चुनावको बेला घोषणा गरेका के कति प्रतिबद्धता पूरा भए त ?

चुनावमा जानु अघि म आफैं त्यतिबेला पार्टीको उपसचिव, २ नम्बर क्षेत्र र नगरको इन्चार्ज थिएँ । त्यतिबेला नगरपालिकामा पार्टीको तर्फबाट घोषणापत्र बनाउने जिम्मा पनि मैले नै पाएको थिएँ । मैले पाएको अवस्थामा ४२ वटा बुँदामा घोषणापत्र बनाएको थिएँ । पाँच वर्षमा हामीले घोषणपत्रमा भनेभन्दा धेरै काम गर्न सफल भएका छौ । १५ अर्बको पूर्वाधारको काम भएको छ । प्रदेश, संघ र विभिन्न अंगहरुबाट बजेट ल्याउन सफल भएका छौ । मोटामोटी रुपमा चार सय पृष्ठको पुस्तक नै निकालेर कहाँ कहाँबाट बजेट आयो र के कति काम भयो भनेर हामीले बुँदागत रुपमा सार्वजनिक पनि गरिसकेका छौ ।

पाँच वर्षे कार्यकालप्रति ब्यक्तीगत रुपले भन्नुपर्दा तपाई आफै चाँहि कत्तीको संन्तुष्ट हुनुहुन्छ ?

म एकदमै सन्तुष्ट छु । नयाँ नगरपालिका भएकाले ६५ वटा कानुन बनाउनुपर्यो, चार कोठा भाडाको घरमा चार पाँच जना कर्मचारीबाट कार्यालय शूरु गरेर अहिले सयौ दरबन्दीका कर्मचारी छन । ब्यक्तीगत कुरा गर्नु पर्दा मेरो सानो परिवार छ । एउटा छोरा, दुई वटा छोरी । छोरा बुहारी अमेरिकामा नै बस्छन् । अहिले दुई जनाको परिवारको साथमा बस्छु । मलाई लोभ लालच छैन । कुनै भत्ता, दायाँ बायाँ गर्नुपर्ने छैन । म पहिल्यैदेखि नै सानो ब्यापारी पनि भएको हुनाले मलाई चाहिने खेती पाती, घर जग्गाजमिन छ । दुई चार रुपैयाँ खर्च गर्न कसैसँग हात फैलाउनुपर्ने र आस गर्नुपर्ने अवस्था छैन । धेरै धनी पनि होइन तर आर्थिक हिसावले यो भन्दा माथि जानुपर्ने पनि छैन । अंंशमा आएको जमिन पनि भएको र अलि मिहेनत पनि गरेर कमाएकाले आर्थिक रुपमा कुनै समस्या छैन ।

त्यसैले मैले पाँच वर्षमा बुझेको भक्ता सामाजीक कार्यमा लगाएको छु । जस्तो उदारहरणको लागि सामुदायिक भवन निर्माणको लागि सप्ताहमा, मठ मन्दिर, विद्यालय लगायतमा २७ लाख ५१ हजार बरावरी सहयोग गरिसकेको छु । गुण्डुमा चार वटा सप्ताह लगाइएको थियो, सबै ठाउँमा ५५ हजारको हिसावले सहयोग गरेको छु । चित्तपोलको राधाकृष्ण सामुदायिक भवनमा अक्षयकोष निर्माणको लागि ६ लाख, सिपाडोलदेखि अन्य विभिन्न ठाउँका मठ मन्दिर र विद्यालयमा १ लाख ११ हजारले सहयोग गरेको छु । साथै दिदी बहिनीहरुको तीज पर्व मनाउन पहिला दुई चार हजार दिने चलन रहेछ तर विकास निर्माणको पैसा हुन्न भनेर मैले ब्यक्तीगत रुपमै दुई ठाउँमा गरेर पाँच लाख सहयोग गरेको छु ।

नगरपालिकाबाट अहिले सम्म सुविधाको रुपमा तेल र गाडी प्रयोग गरेको छु । आजदेखि आचारसंहिता लाग्ने हुनाले सरकारी गाडी प्रयोग गर्दिन् । अब निजी गाडी चढ्छु । मैले नगरपालिकामा कुनै आर्थिक मामिलामा लोभ गरेको छैन । मैले लोभ गरेको कुनै प्रमाणीत भएमा सजाय भोग्न तयार छु ।

आगामी निर्वाचनमा तपाईका एजेन्डा के-के हुन् त ?

मैले पाँच वर्षमा नगरलाई जग बसाउने काम गरेको छु । विकास निर्माणका महत्वपूर्ण कार्यहरु भएका छन् । नगरको दिगो विकास र समृद्ध नगर बनाउने दिर्घकालीन योजनाहरु पूरा गर्न बाँकि नै छन् । अबको पाँच वर्षमा प्रत्येक नगरबासीको घरघरमा खानेपानीको ब्यवस्थापन गर्ने, अधुरा भौतीक पूर्वाधार योजनाहरु पूरा गर्ने, मठ मन्दिर र हरियाली डाँडा काँडाहरुलाई पर्यटन पबद्र्धन गर्ने, आयमूलक, सीपमूलक र रोजगारीमूलक काम गर्ने, जस्तो हनुमन्ते करिडोर जस्ता ठूला योजनाहरु पूरा गर्ने, प्रत्येक बाटोहरु पिच गर्ने लगायत धेरै एजेन्डा छन । याी सबै योजनाहरु पूरा गर्न नगरमा हाम्रो नेतृत्व र एमालेको नेतृत्व चाहिन्छ भन्ने नगरबासीले बुझ्नु भएको छ ।

सतारुढ गठबन्धन एकातीर छ, अर्कोतीर पार्टी पनि फुटेको छ, यो अवस्थामा तपाईको जितको आधार के ?

सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो र एमालेको नेतृत्व चाहिन्छ भन्ने कुरा नगरबासीले बुझेका छन् । विशेष गरि चुनावमा मैले पाँच वर्षमा गरेको काम मुख्य एजेन्डा हुनेछ र त्यही नै मेरो जितको आधार हो भन्ने लाग्छ । गठबन्धन गर्ने कुरा कमजोरले गर्ने हो बलियोले गर्ने होइन । गठबन्धनले मलाई कुनै फरक पार्नेवाला छैन र गठबन्धनप्रति आपत्ति पनि छैन । ठूलो कुरा नगरबासीको मन जितेकाले जित सुनीश्चित छ भन्ने कुरा तपाईलाई विश्वास दिलाउन चाहान्छु । जहाँसम्म पार्टीबाट गएकाको कुरा गर्नु भयो, सूर्यविनायकको हकमा नेकपा एमालेका केहि छिट्काहरु मात्र गएका छन् । उहाँहरु पाँच सात सय हाराहारीमा समाजवादीमा गएका छन् भने हामीले अन्य पार्टीबाट २ हजारभन्दा बढी प्रवेश गराएका छौ । त्यसकारण पनि गठबन्धनले हामीलाई कुनै असर गर्दैन ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

चुनावमा हामी सबैले धाँधलीरहित स्वच्छ प्रतिस्पर्धामा जानुपर्छ । चुनावमा जनतालाई रिजाउन सक्ने ब्यक्तीले जित्छ, रिजाउन नसक्ने ब्यक्ती अर्को पटक रिजाएर आउँछु भनेर जानुपर्छ । स्वच्छ प्रतिस्पर्धामा जादा मलाई नगरबासीले जिताउनुहुनेछ भन्ने आसा छ । त्यसको बावजुत अर्को ब्यक्ति आउनु भएछ भने पनि स्वीकारेर साथीहरुलाई पूरा सघाउनेछु । साथै म पहिलो मेयर भएकाले धेरै अनुभव छन् र मैले स्वच्छ हराबरा, बस्न लायक नगरपालिका बनाउन बाचुञ्जेलसम्म सघाउनेछु ।

अन्तमा हामीले थुप्रै काम गर्दा गर्दै समयको पावन्दीले बाँकि काम पूरा गर्न सकेका छैनौ । नगरबासी आमा बुबा, दाजु भाई तथा दिदीबहिनीहरुले एमालेका उम्मेदवारलाई विजयी गराएर बाँकि काम पूरा गर्न सहयोग गरिदिनु हुनेछ भन्ने नगरबासी सबैमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।


प्रकाशित | २५ चैत्र २०७८, शुक्रबार १४:२०