आठ महिनामा साढे ३२ अर्बको सुन आयात

काठमाडौँ –चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ। सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताउनुभयो ।

परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उहाँको भनाइ छ। आठ महिनामा ३२ अर्बको सुन आयात हुनु सामान्य हो । यो वर्ष मूल्य बढेका कारणले गर्दा पनि रकममा धेरै देखिएको हो, उहाँले भन्नुभयो । मूल्य बढेकाले स्थानीय बजारमा कारोबार ५० प्रतिशतले गिरावट आएको उहाँको भनाइ छ। सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुन विक्री हुने गरेकोमा अहिले आधाले घटेको उहाँले बताउनुभयो । आजको कारोबार दैनिकमा समाचार छ ।


प्रकाशित | २१ चैत्र २०७८, सोमबार १५:०४