एनआरएनए आइसिसी कोषाध्यक्षमा जापानबाट महेश श्रेष्ठको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोवरमा काठमाडौंमा हुन लागिरहेको विश्व सम्मेलनमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।  श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याणकारी कोषमा वार्षिक ८० करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गर्नुभएको छ ।

उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिन्छ र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गर्दछ। उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८० करोड रुपैया जम्मा गर्न सकिन्छ ।’

उहाँले सो कोषको संचालनका लागि निमावली तथा कार्यविधी बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसँग गहन छलफल भइरहेको जानकारी समेत दिनुभयो ।

बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिनुहुन्छ ।  श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी उपयुक्त हुने बताउनुभयो ।

उहाँले सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रिय हुनुहुन्छ । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत भइसक्नु भएको छ । पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सक्नु भएको उहाँले सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर गर्नुभएको छ ।

यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको श्रेष्ठ हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा हुनुहुन्छ ।

जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशक समेत रहनु हुन्छ । उहाँ जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुनुहुन्छ ।

उहाँको नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर सिटी ट्राभल एण्ड टुर, आइटी, आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेको छ ।

श्रेष्ठले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोजी देखि वर्तमान अध्यक्ष भवन भट्टसम्मको एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।

उहाँले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्धा समेत दायर गर्नुभएको छ ।

श्रेष्ठले भन्नुभयो, ‘संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेको छ । त्यसका बिरुद्ध गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी छ ।’


प्रकाशित | २२ भाद्र २०७६, आईतवार २०:३४