एनआरएनए नवनिर्वाचित पदाधिकारीद्धारा एमाले अध्यक्ष ओलीसँग भेटघाट

काठमाडौं – गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा.बद्री केसीसहितको नवनिर्वाचित कार्यसमितिको टोलीले ओली निवास बालकोट पुगेर भेटघाट गरेको हो ।

भेटघाटको क्रममा गैर आवासीय नेपाली संघको दशौँ विश्व सम्मेलन बाट उठेका विषयहरूमा सम्बोधन, सहकार्य र समन्वय गरिदिनुहुन आग्रह गरिएको छ ।

टोलीले ओलीलाई पाँच बुँदा समेटिएको ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो छिटो पारित गरिदिन ध्यानर्कषण गराइएको हो ।

त्यस्तै, कम्तिमा १० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड सम्बन्धी भएका बाधा अड्चन फुकाई सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ ।

त्यस्तैगरि, त्यस्तै, वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिन, एक सय रुमको आधुनिक सुविधा सम्पन्न वृद्धाश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिन, वैदेशिक रोजगार सामाजीक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिन पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोभिडको समयमा खेलेको भुमिकाप्रति प्रशंसा गर्नु भयो ।

ओलीले गैर आवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक आफ्नै पाला देखिनै संसदीय प्रक्रियामा रहेको बताउँदै अहिले ढिला भए पनि यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिनु भयो ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री तथा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्नु भएको हो ।


प्रकाशित | १६ चैत्र २०७८, बुधबार १२:५४