अठार महिनापछि पनि बधाई पाएँ भने आफूलाई सफल ठान्नेछु : एनआरएनए महासचिव जोशी

काठमाडौं :  गैर आवासीय नेपाली संघका नवनिर्वाचित महासचिव गौरीराज जोशीले आफूले पाएको जिम्मेवारीलाई सहजताका साथ निभाउने प्रतिवद्धता जनाउनु भएको छ । सामाजिक सञ्जालमार्फत जोशीले पद लिनु मात्र महत्वपूर्ण पदीय जिम्मेवारीअनुसार विदेशमा बस्ने नेपालीको हकहितका लागि काम पनि गरेर देखाउनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउनु भयो ।

‘म महासचिव रहँदा विदेशमा बस्ने नेपाली समुदायको हकहितका लागि मिहिनेतका साथ काम गर्नेछु भन्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु । मेरो काम हेरेर १८ महिनापछि यहाँहरुले मलाई पुनः बधाई दिनुभयो भने मात्र म आफैलाई सफल भएको मान्नेछु’, उहाँले भन्नु भयो ।

‘पद अवसर र चुनौती दुवै भएको बताउनु भयो । उहाँले विदेशमा बस्ने नेपालीका थुप्रै मुद्दाहरु रहेको पनि बताउनु भयो । विदेशमा मिहिनेत गरेर कमाएको पैसाले घरका लागि एउटा टेलिभिजन ल्याउँदा कति इन्च भनेर सोधिन्छ । विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गर्न खोज्दा झमेलाहरु छन् । नेपाली नागरिकताको निरन्तरता हुदां देशलाई कुनै बेफाइदा छैन । फाइदा मात्र छ । यसबारेमा हामीले अझ राम्रोसँग बुझाउन सकेका छैनौँ’, उहाँले थप्दै भन्नु भएको छ ।

हाल नेपालका आर्थिक तथ्यांकहरुले संकट आउने संकेत गरिरहेको उल्लेख गर्दै विदेशी मुद्राको सञ्चिति घटेको संकटलाई कम गर्न सरकारसँग मिलेर काम गर्ने पनि बताउनु भयो । विदेशमा बस्ने नेपालीको बचतलाई देशमा लगानी गर्ने उद्देश्यले स्थापना भएको १० अर्ब रुपैयाँको एनआरएनए लगानी कोषको काम अगाडि बढेको र यसलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती रहेको उहाँले बताउनु भयो ।

‘हामीबीचको मजबुत सञ्जाल नै हाम्रो बल हो । मिलेर जाँदा हाम्रा मुद्दाहरु राख्न सहज हुन्छ । अब आग्रह र पुर्वाग्रह राखेर कसैलाई केही फाइदा छैन । गोलवद्ध भएर उत्साहका साथ अगाडि बढ्दै एनआरएनए अभियानलाई अगाडि लैजान म सधैँ सकरात्मक र तत्पर रहने छु’, उहाँले भन्नु भयो ।

एनआरएनए अभियानमा लाग्नुभएका सबैको सहयोग, सुझाव र सल्लाहका लागि आग्रह गर्दै यसले महासचिवको जिम्मेवारी अनुसार काम गर्न अझ प्रेरणा र हौसला मिल्ने पनि बताउँनु भयो ।


प्रकाशित | १५ चैत्र २०७८, मंगलवार १३:०६